सूचनाको शक्ति - The Power Of Information

        

किवी फल बिक्रीका लागि बजार अभाव

कालिकोटमा किवी खेती फस्टाए पनि किसानलाई बजारको समस्या भएको छ । किवी फल उत्पादन भए पनि सडक तथा बजार नहुँदा बिक्रीका लागि समस्या भएको हो । यहाँको नरहरिनाथ गाउँपालिका–५ रुप्सामा किवी खेती फस्टाएको छ । तर, किसानलाई बिक्रीको चिन्ता छ ।

रुप्साका अगुवा किसान जसमल बोगटीले यस वर्ष मात्रै पाँच क्विन्टल किवी उत्पादन गरे । तर, उत्पादित किवीको बजारीकरणमा समस्या भयो । ‘बोटमै किवी पाक्न थालेपछि बजार र मूल्यको तनाव हुन्छ,’ उनले भने, ‘यहाँ सडक नपुगेकाले बजारमा कहाँ लैजानु । बाटोमा पहिरो आएर पैदल हिँड्न पनि सकिन्न ।’

रामेछाप जिल्लाबाट किवीका बिरुवा खरिद गरेर ल्याएर खेती गर्दै आएका उनले छिमेकी तथा गाउँलेलाई किवीको बेर्ना निःशुल्क दिने गरेको र भविष्यमा गाउँलाई किवी उत्पादनले चिनाउने लक्ष्य राखेको बताए । ‘यसवर्ष उत्पादन भएकोमध्ये कसरी कहाँ बिक्री गरौँ भन्ने छ । आउने दिनमा केही भइहाल्ला,’ उनले भने, ‘कता लैजाने र कहाँ बिक्री गर्ने भन्ने अन्योल छ ।’

उत्पादन गरे पनि बजार र मूल्य नपाउँदा समस्या भएको उनको भनाइ छ । ‘यहाँका अधिकांश किसानले किवी खेतीबाट राम्रै आम्दानी हुन्छ भन्ने आशाले व्यावसायिक खेती सुरु गरेका थिए” उनले भने, “तर, उत्पादनसँगै बजारीकरणको समस्या भएको छ ।’ नरहरिनाथ गाउँपालिकामा किवी, अलैँची लगायतबाट राम्रो आम्दानी हुने सम्भावना देखिएको स्थानीय रामबहादुर बटालाले बताए ।

‘यहाँका किसानले किवी अलैँची तथा जडिबुडीको खेती राम्रो गर्नुभएको छ,’ उनले भने, ‘यसवर्ष वडा नं. ५ को रुप्सामा किवी उत्पादन राम्रो भयो ।’ नरहरिनाथ गाउँपालिका–९ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता प्रदीपकुमार बोहोराले किवीको व्यावसायिक खेतीको उत्पादनलाई बजारीकरण आवश्यक देखिएको बताए ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार ०८:०८

लोकप्रिय