सूचनाको शक्ति - The Power Of Information

        

कैलाश मानसरोवरको सहज यात्राका लागि महाकाली करिडोर

सुदूरपश्चिम प्रदेशको समृद्धिको आधार मानिएको महाकाली करिडोर कञ्चनपुरको ब्रह्मदेवदेखि बैतडीको झुलाघाट हुँदै दार्चुलाको टिंकरसम्म पुग्छ । कुल ४२५ किलोमिटर लम्बाइको यो सडकले कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्ला जोड्छ । यो सडक निर्माणपछि उक्त क्षेत्रमा बसोबास गर्ने करिब आठ लाख जनता प्रत्यक्ष लाभान्वित हुनेछन् ।

करिडोर निर्माणपछि चीनमा रहेको कैलाश मानसरोवर यात्रा सहज हुने अपेक्षा गरिएको छ । महाकाली करिडोरको ‘जिरो प्वाइन्ट’ मानिएको कञ्चनपुरको ब्रह्मदेवस्थित सिद्धवैजनाथ हुँदै कैलाश मानसरोवरसम्म पुग्नका लागि यो सबैभन्दा छोटो बाटो हुनेछ । धार्मिक दृष्टिकोणले सुदूरपश्चिम देवभूमिका रुपमा परिचित छ ।

महाकाली करिडोरमा पर्ने कञ्चनपुरको सिद्धवैजनाथधाम, डडेल्धुराको परशुरामधाम, बैतडीको त्रिपुरासुन्दरी र दार्चुलाको मालिकार्जुनधाम हुँदै कैलाश मानसरोवर पुग्न सकिने भएकाले करिडार निर्माणपछि यहाँका धार्मिक पर्यटनको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । चुरे महाभारत पर्वतअन्तर्गत डडेल्धुराको परशुराम नगरपालिकामा रहेको परशुरामधामसम्म भने ट्र्याक खुलिसकेको छ ।

विसं १४७५ मा भारतको झारखण्डबाट विहार, कुमाउ कतुरकोट गरुडगोवती हुँदै सिद्धवैजनाथ बाबा परशुरामधाम आएर बसेको इतिहास छ । परशुरामधाममा रहँदा सिद्धवैजनाथ बाबा र त्यहाँका तत्कालीन राजा नागी मल्लबीच खटपट भएपछि उनी सो ठाउँ छाडेर बुड्डीमलास पीपलकोट (हालको वेदकोट क्षेत्र)मा आइ तपस्या गरेको विश्वास छ ।

करिडोर त्रिपुरासुन्दरीको मन्दिरको फेद हुँदै राष्ट्रको सातौँ धामका रुपमा परिचित मालिकार्जुन हुँदै टिंकर पुग्नेछ । महाकाली करिडोर सञ्चालनमा आए व्यापारिक गतिविधिसँगै धार्मिक पर्यटन बढ्ने विश्वास लिइएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जंगबहादुर मल्लको भनाइ छ ।

‘कञ्चनपुर भारतसँग र दार्चुला चीनसँग जोडिएपछि यहाँ धार्मिक पर्यटकको सङ्ख्या अपेक्षा गरिएको छ,’ मल्लले भने, ‘भारतको उत्तराखण्डसँग हाम्रो धार्मिक सम्बन्ध छ त्यसकारण त्यहाँको मानिस नेपाल आउन चाहन्छन् ।’ उत्तराखण्डको हरिद्वार, ऋषिकेष र हिमाञ्चलमा आउने तेस्रो मुलुकका पर्यटकका लागि कैलाश मानसरोवरसम्म पुग्न यो सडक प्रयोग गर्न सक्नेछन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जदेखि दार्चुलाको अपिनाम्पासम्म पुग्न पनि करिडोर निर्माणपछि सहज हुनेछ । मल्लले भने, ‘करिडोर निर्माणले मात्रै सुदूरपश्चिम प्रदेशको विकास सम्भव छ यसले चीनसँगको व्यापारको ढोका खोल्नेछ ।’ उनी सुदूरपश्चिम घुम्न आउने पर्यटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको विशाल घाँसे मैदानमा दुर्लभ बाह्रसिङ्गाको झुण्ड अवलोकन गर्दै ब्रह्मदेव हुँदै दार्चुलाको अपिहिमालको फेदसम्म पुग्न सक्छन् ।

त्यसैगरी एसियाकै लामो दोधारा चाँदनी झोलुंगे पुल पर्यटकको अर्को आकर्षणको गन्तव्य हो । महाकाली करिडोर निर्माणपछि प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटक बढ्ने बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दको विश्वास छ । बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर तथा देवदात लगायत धार्मिकस्थल पनि करिडोर नजिकै छन् ।

उनले भने, ‘करिडोरको निर्माण सम्पन्न भए यहाँ धार्मिक पर्यटक त बढ्छन् नै यहाँको आर्थिक गतिविधि पनि बढ्नेछ । त्यसैले जतिसक्दो करिडोर सम्पन्न गर्नेमा जोड दिनुपर्छ ।’ निर्माण सुरु भएको डेढ दशक भइसक्दा पनि करिडोर निर्माण सम्पन्न नहुँदा प्रदेश विकासमा पछि परेको उनको भनाइ छ । बैतडीकै दशरथचन्द नगरपालिकामा ईश्वरी गंगाधाम, निङ्गलाशैनी मन्दिर लगायतका पर्यटकीयस्थल छन् ।

महाकाली करिडोरले बैतडीको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिका गरी चार स्थानीय तहमा सुविधा पुर्याउनेछ । बैतडीको दोगडाकेदार गाउँपालिकाका गणेश भट्टले भने, ’बैतडीका धार्मिकस्थलमा त भारतबाट अहिले पनि पर्यटक आइराखेका छन् तर सडक सञ्जालको सहज सुविधा भए पर्यटक बढ्ने थिए ।’

उनले सुदूरपश्चिमको आर्थिक समृद्धिका रुपमा आफूहरुले महाकाली करिडोरलाई लिइएको बताए । नेपालकै गहिरो पतालभुवनेश्वर गुफा, मेलौली भगवती मन्दिर, रौलाकेदार, भिटाकेदार, उदयदेव मन्दिर, सिँगास, त्रिवेणीधाम, डिलाशैनी मन्दिर लगायतको विकासमा पनि करिडोर सहयोगी हुने उनले उल्लेख गरे । करिडोर निर्माण जति सक्दो चाँडो भयो त्यति नै चाँडो दार्चुलाको विकास हुने व्यास गाउँपालिका–१ तिंकरका विनोद बुढाथोकीले बताए ।

उनका अनुसार नेपाल र चीनको सीमाना ताक्लाकोटमा रहेको पिल्लर नं १ देखि कैलाश मानसरोवर पुग्न आधा दिन मात्रै लाग्छ । ‘यो नाकाबाट एक दिनमै कैलाश मानसरोवर दर्शन गरेर फर्किन सकिन्छ, यसले धार्मिक पर्यटक बढाउने छ, त्यसका लागि यहाँसम्म पुग्नका लागि पहिलो करिडोर निर्माण हुन जरुरी छ,’ उनले भने । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले सरकारले दार्चुलाको टिंकरमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारी गरिरहेको बताएका छन् ।

उनले त्रिदेशीय नाकाका रुपमा यसलाई विकास गर्न सके व्यापारिक, धार्मिक लाभ हुने विचार व्यक्त गरे । ‘त्रिदेशीय नाकाका रुपमा विस्तार गर्ने विषयमा छलफल अघि बढिसकेको छ, निकट भविष्यमा नै दार्चुलाको तिंकरमा अध्यागमन कार्यालय स्थापना हुन्छ,’ गृहमन्त्री लेखकले भने, ‘त्रिदेशीय नाका अन्तरआबद्धताका लागि मात्रै नभइ व्यापारिक, औद्योगिक र पर्यटकीय प्रयोजनका लागि महत्वपूर्ण मानिएको छ ।’ करिडोरको निर्माण विसं २०६६ देखि सुरु भएको हो ।

कुल ४२५ किलोमिटरमध्ये ३३४ किलोमिटर सडक महाकाली लोकमार्ग आयोजना कार्यालय र ७९ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको परशुरामसम्मको ११ किमी सडकको ट्र्याक खुलेर सञ्चालनमा आइसकेको छ । ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म ३३४ किमी करिडोर सडकको ट्र्याक खोल्ने काम महाकाली करिडोर सडक योजनाले गरिरहेको छ । जसमध्ये हालसम्म २४२ किमी ट्र्याक खुलिसकेको छ ।

स्रोत : रासस
प्रकाशित मिति : २३ भाद्र २०८१, आइतवार २०:४९

लोकप्रिय