सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा झाडापखालाका बिरामीको उपचार गर्न ‘छुट्टै वार्ड’

बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकामा झाडापखालाका बिरामीको संख्या बढ्न थालेपछि नरैनापुर गाउँपालिकाका दुई वटा स्वास्थ्य संस्थामा झाडापखालाका बिरामीका लागि छुट्टै वार्ड (उपचार कक्ष) स्थापना गरिएको छ ।

वर्षाको मौसममा पखालाका बिरामी बढ्न थालेको र केही बिरामीको मृत्यु समेत भएकोले थप जनशक्ति र औषधीको व्यवस्था गरेर पालिकाका दुई वटा स्वास्थ्य संस्थाहरु वडा नं.२ लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र र नरैनापुर–६ गङ्गापुर स्वास्थ्य चौकीमा छुट्टै वार्ड (उपचार कक्ष) स्थापना गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले जानकारी दिए ।

उनले ती दुबै स्वास्थ्य संस्थामा आपतकालीन स्वास्थ्य सेवा समेत सुरु गरिएको जनाउँदै झाडापखाला र मौसमी फ्लुका बारेमा स्थानीयमा सचेतना वृद्धि गर्ने कार्य पनि सुरु गरिएको बताए । नरैनापुरमा स्थापना गरिएका छुट्टै वार्ड (उपचार कक्ष) मा १० देखि १५ जना बिरामीलाई भर्ना गरेर उपचार गर्न सकिने स्वास्थ्य शाखा प्रमुख शाहले बताए ।

उनले झाडापखालाका बिरामीको उपचारका लागि आठ जना स्वास्थ्यकर्मी राखिएको जनाउँदै शनिबार मात्रै सो उपचार कक्षमा पाँच जना बिरामीलाई भर्ना गरेर उपचार सुरु गरिएको जानकारी दिए । यसअघि गत साता मात्रै नरैनापुर–३ गेग्ली गाउँमा एकै परिवारका तीनसहित चार जनाको बान्ता, पखाला र कडा खाले ज्वरो आई शरीरमा पानीको कमीले गर्दा मृत्यु भएको थियो । उनीहरुले समयमा उपचार नपाएर मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले गरेको अनुसन्धानबाट खुलेको थियो ।

सोही प्रकारले नरैननापुर गाउँपालिका–६ सोनवर्षाका एक र जानकी गाउँपालिका–५ बेलहरीका एक जना गरेर थप दुई जनाको पनि पखालाबाट मृत्यु भएको थियो । जिल्लामा ६ जनाको मृत्यु भएको र बिरामी बढ्दै गएको अवस्थामा नेपालगन्ज र नरैनापुरमा विशेष सतर्कता अपनाउन थालिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । सोही क्रममा नरैनापुरका दुई वटा स्वास्थ्य संस्थामा छुट्टै वार्ड स्थापना गरिएको जनाइएको छ ।

भेरी अस्पतालमा यसअघि नै झाडापखालाका बिरामीका लागि छुट्टै उपचार कक्ष सञ्चालनमा ल्याइसकिएको भेरी अस्पतालका सूचना अधिकारी डा. संकेत कुमार रिसालले बताए । चिकित्सकहरुका अनुसार मौसम परिवर्तनसँगै जिल्लाका बिभिन्न स्थानमा झाडापखालाका बिरामी बढ्न थालेका छन् । मौसम परिवर्तन, खानपिनमा समस्या, पानीको स्रोत दूषित हुनु, खुला दिसा गर्ने परम्परा, पानी निर्मलीकरण नगरी पिउनु लगायतका कारणले झाडापखाला हुने गरेको चिकित्सकहरुको भनाई छ ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतवार १६:०५

लोकप्रिय