सूचनाको शक्ति - The Power Of Information

        

लाइसेन्सको ट्रायल पास गर्नेलाई ‘रसिदमै फोटो र क्युआर’

सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल पास गर्नेहरुलाई अब फोटो र क्युआर कोडसहितको रसिद दिने भएको छ । तत्काल स्मार्ट कार्ड दिन नसक्ने भएपछि सरकारले रसिदमै फोटो आउने गरी कार्ड दिन लागेको हो ।

यसैगरी ट्राफिक प्रहरीलाई क्युआर कोड पढ्ने मेसिन उपलब्ध गराइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले स्मार्ट लाइसेन्स वितरणमा ढिलाइ भएकाले तत्काल समस्या समाधानका लागि नयाँ उपाय अवलम्बन गरिएको बताए ।

ट्रायल पास गरेका १५ लाख सेवाग्राहीले अझै स्मार्ट कार्ड पाउन सकेका छैन । यातायात व्यवस्था विभागको मेसिनले अहिले खरिद गरेका नयाँ कार्ड रिड गर्न नसकेपछि नयाँ विकल्प खोजिएको हो । त्यस्तै संघीय सरकारले अत्यावश्यक बाहेक अन्य कार्ड प्रदेशबाटै छाप्न आग्रह समेत गरेको छ ।

समस्या समाधानका लागि संघीय सरकारका भौतिकमन्त्री संयोजक रहेको कमिटीसमेत गठन गरिएको छ । बागमती प्रदेश सरकारले कार्ड आफैं छाप्ने बताएपछि अन्य प्रदेशले तयारी गरेको जनाएका छन् । एक वर्षसम्म पनि सामान्य सवारी चालक अनुमतिपत्र दिन नसकेको भन्दै सरकारको कार्य सम्पादन माथि प्रश्न उठिरहेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतवार १३:२०

लोकप्रिय