नेपालगन्जमा रहेको कान्ति ताल विश्वमै दुर्लभ मानिने चरा सारसको प्रजनन गर्ने ठाउँ बनेको छ । कान्ति तालमा ३२ प्रजातिका चरा देखिएको र सो ठाउँ विश्वको दुर्लभ चरा सारसको प्रजनन गर्ने ठाउँसमेत रहेकाले उक्त तालको संरक्षण आवश्यक भएको चराविज्ञको भनाइ छ । नेपाल पन्छी सङ्घका प्रोजेक्ट फिल्ड अफिसर हिरू डगौराले कान्ति ताल नेपालमा सारस बढाउने एक अहम् माध्यम बन्न सक्ने बताउँदै नेपालगन्ज सहरको पर्यावरणका लागि पनि सो तालको संरक्षण महत्वपूर्ण रहेको बताए ।
उहाँले सिमसार क्षेत्रमा मात्र प्रजनन गर्ने नेपालको स्थानीय चरा जलअप्सराले निश्चित सिमसार क्षेत्र मात्र छनोट गर्ने गरेको बताउँदै बाँकेको कान्ति ताल, बर्दियाको बढैया ताल, कैलालीको घोडाघोडी र कञ्चनपुरको पुरैनी ताल सो चराले छनोट गरेको पाइएको बताए । यो तालमा मोटरबोट नचलाउन आग्रह गर्दै चराविज्ञ डगौराले मोटरबोट चलाउनुको सट्टा जलीय जैविकता संरक्षणसहितको विकल्प अपनाएर चरा ताल बनाई यहाँ पर्यटक भित्र्याउने विकल्प अपनाउनुपर्नेमा जोड दिए ।
पन्छी विशेषज्ञ रामबहादुर शाहीले वातावरण, पर्यावरण र चराको संरक्षणका लागि सिमसार क्षेत्रको रेखदेख र संवर्धनमा विशेष ध्यान दिनुपर्ने बताए । उनले कान्ति तालमा मोटरबोटको विकल्पमा प्राकृतिक चरा पार्क बनाएर आम्दानी गर्न सकिने सुझाव दिँदै सो तालमा ३२ प्रजातिका चरा देखिएको र यो ठाउँ विश्वको दुर्लभ चरा सारसको प्रजनन गर्ने ठाउँ रहेकाले संरक्षण आवश्यक भएको बताए । यसैबिच कान्ति तालमा मोटरबोट नचलाउन स्थानीयले माग गर्दै दबाब बढाउँदै गएका छन् ।
उनीहरूले मोटरबोट सञ्चालनविरुद्ध दबाब दिइरहेकै बेला सो ताललाई चरा पार्क बनाउन चराविज्ञहरूले माग गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाको वडा नं.२१ र २२ अन्तर्गत २५ बिघा क्षेत्रफलमा फैलिएको कान्ति तालमा मोटरबोट चलाउने तयारी गरिएपछि स्थानीय, चराविज्ञ र संरक्षणकर्मीले सिमसारलाई प्राकृतिक रूपमै संरक्षण गरेर आयआर्जनको माध्यम बनाउन माग गरेका हुन् । सो तालमा मोटरबोट चलाउनुको सट्टा जलीय जैविकता संरक्षणसहितको विकल्प अपनाएर चरा ताल बनाई त्यहाँ पर्यटक भित्र्याउने विकल्प अपनाउनुपर्ने रहेका पत्रकार राकेश मिश्रले बताए ।
उनले मोटरबोटको विकल्पमा प्राकृतिक चरा पार्क बनाएर आम्दानी गर्न सकिने बताए । बाक्लो बस्ती भएको नेपालगन्ज सहरको पर्यावरणका लागि पनि कान्ति तालको संरक्षण महत्वपूर्ण रहेको मिश्रको भनाइ छ । कान्ति तालमा प्रकृतिसँग रमाउन चाहिरहेका मानिसलाई चरा देखाउन, यहाँका स्कुल, कलेजलाई लक्षित गरी जैविक विविधता सिकाइ सेन्टरका रूपमा पनि विकास गरेर आम्दानी गर्न सकिने अधिकांशको सुझाव छ ।
चरा विशेषज्ञहरूले बाँके, बर्दियामा भएका सिमसारमध्ये राम्रो अवस्थाको तालका रूपमा कान्ति ताल देखिएको बताएका छन् । नेपालमा संरक्षणको सूचीमा नौ प्रकारका सारस रहेकामा तीमध्ये छ वटा तराईमा र तीन वटा कान्ति तालमा देखिएको जनाइएको छ । जाडोयाममा साइबेरिया, श्रीलङ्का लगायतका देशबाट आउने चरा सो तालमा आराम गरेर भारत जाने र त्यहाँबाट फेरि यहाँ आएर फर्किने गरेको पनि पाइएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके