सूचनाको शक्ति - The Power Of Information

        

नरैनापुरमा अज्ञात रोगबाट थप एकको मृत्यु, अवस्था नियन्त्रणमै

बाँकेको नरैनापुरमा अज्ञात रोगबाट थप एकजनाको मृत्यु भएपछि स्थानीयवासी भयभित हुन थालेका छन् । नरैनापुर गाउँपालिका–६ गङ्गापुरस्थित सोनवर्षा निवासी २८ वर्षीया निर्मला पासीको बुधबार उपचारका क्रममा मृत्यु भएको छ ।

पासीलाई १८ गते राति बान्ता भएपछि स्थानीय मेडिकलमा जाँच गराई बुधबार नेपालगन्जस्थित शिक्षण अस्पतालमा थप उपचारका लागि लगिएकामा उनको उपचारकै क्रममा मृत्यु भएको नरैनापुर वडा नं ६ स्थित गङ्गापुर स्वास्थ्य चौकी इन्चार्ज भरतराज बुढाथोकीले जानकारी दिए । केही दिनअघि नरैनापुरकै वडा नं ३ गेग्ली गाउँमा झाडापखालाको लक्षण देखिएर चार जनाको मृत्यु भएको थियो ।

बुधबार निर्मलाको अचानक मृत्यु भएपछि गङ्गापुरका स्थानीयवासी स्वास्थ्य चौकीमा परीक्षणका लागि आउने क्रम बढेको स्वास्थ्य चौकी इञ्चार्ज बुढाथोकीले बताए । ‘यो बेला मौषमी ज्वरो, आउँमासी, पेट दुख्ने समस्या प्रायः हुने गर्दछ, स्वास्थ्य चौकीमा आज पनि झाडापखालाको लक्षण भएका केही बिरामी उपचारका लागि आएका छन्,’ उनले भने ।

झाडापखालाको प्रकोप छैन, तर एकजनाको ज्यान गएपछि स्थानीयवासी डर त्रासले स्वास्थ्य चौकीमा जाँचका लागि आउने क्रम बढेको छ । स्वास्थ्य चौकीमा बिहीबार एकैदिन १०६ जना ज्वरो, आउँ र झाडापखालाको समस्या लिएर आएको उनले जानकारी दिए । जसमध्ये ४५ जनाले आउ र पखालाको लक्षण देखिएको छ ।

त्यसमध्ये तीन जनामा जलवियोजनको अवस्था पाइएपछि औषधोपचार गरेको बुढाथोकीको भनाइ छ । अहिले गाउँमा ज्वरो र झाडापखाला जस्ता लक्षण भएका बिरामीहरू फेलापरेको स्थानीय सोहनलाल यादवले बताए । गेग्ली गाउँ र सोनवर्षामा गरी चार जनाको मृत्यु भएपछि नरैनापुरवासीमा डरत्रास देखिएको उनको भनाइ छ ।

नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले हाल मौषमी ज्वरो, आउँ, पेट दुख्ने समस्या देखिरहेको उल्लेख गरे । गाउँमा गएर बुझ्दा अवस्था नियन्त्रित अवस्थामै रहको पाइएको उनले बताए । गाउँपालिकामा कुनै पनि किसिमको सङ्क्रमण फैलिन नदिन आफूहरूको ध्यान केन्द्रित भएको र स्वास्थ्य टोली गाउँमा खटाएर बिरामीलाई उपचारमा ल्याउन र सचेतीकरण गर्ने काम गरिरहेको स्वास्थ्य शाखा संयोजक साहले बताए ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार १६:५६

लोकप्रिय