सूचनाको शक्ति - The Power Of Information

        

पूर्णरुपमा हट्दै टिकटकको प्रतिबन्ध

चीनियाँ एप टिकटकका प्रतिनिधिहरू नेपाल आएका छन् । नेपाल सरकारले शर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेपछि सिंगापुरस्थित कार्यालयबाट तीन जनाको टोली काठमाडौं आएको हो । बिहीबार टिकटकका प्रतिनिधिहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारका शर्तहरूबारे छलफल गरेका छन् ।

उनीहरूले सरकारले तोकेका शर्तहरू पूरा गर्ने प्रतिबद्धता जनाउँदै तत्कालै प्रतिबद्धता पत्र उपलब्ध गराउन सकिने बताएका छन् । स्रोतका अनुसार टिकटकले सरकारले राखेका सर्तबाहेक अन्य विषयमा पनि नेपाल सरकारलाई सघाउन सक्ने बताएका छन् । नेपाल सरकारले २०८० कात्तिक २७ गते टिकटकमा प्रतिबन्ध लगाएको थियो ।

टिकटक नेपालमा दर्ता हुनुपर्ने, ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ अर्थात् सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नुपर्ने सर्त सरकारले राखेको थियो । करिब ९ महिनापछि, ६ भदौमा सरकारले सर्तसहित टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो । यद्यपि, सञ्चार तथा सूचना प्रविधि मन्त्रीले भने हालसम्म दूरसञ्चार प्राधिकरणलाई औपचारिक रूपमा प्रतिबन्ध हटाउन निर्देशन भने दिएको छैन ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार १५:३८

लोकप्रिय