सूचनाको शक्ति - The Power Of Information

        

तीन दिदीबहिनीका तीन छोरा एउटै पोखरीमा डुबेपछि…

धनुषामा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ । मावलीघरमा भोज खान गएका तीनजना बालकको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ लक्ष्मीनियामा रहेको पोखरीमा डुबेर बुधबार साँझ तीन जना बालकको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार मृत्यु हुनेमा १० वर्षीय आदित्यकुमार साह, ९ वर्षीय आयुष साह र १४ वर्षीय सुशान्त साह रहेका छन् । मावलीतर्फका हजुरबुबा महावीर साहको घरमा भोज खान गएका बालकहरू नजिकैको पोखरीमा पौडी खेल्न जाँदा डुबेको आशङ्का गरिएको छ ।

मृतक बालकहरू साहका तीन वटा छोरीका छोरा हुन् । साँझ करिब ७ः३० बजेतिर पोखरीमा बालकको शव भेटिएको हो । सबैजना भोजमा व्यस्त रहेका बेला पौडी खेल्न गएका उनीहरुको पानीमा डुबेर मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको वडाध्यक्ष गङ्गा साहले जानकारी दिए । तीनै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार ०७:१५

लोकप्रिय