सूचनाको शक्ति - The Power Of Information

        

बालेनले फेरि लेखें, ‘पोष्ट उडाउने हैन, दोषी समाउ सरकार !’

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको एउटा पोष्ट फेसबुकले हटाएपछि उनले फेरि चुनौतिपूर्ण पोष्ट गरेका छन् । यसअघि लेखेको पोस्ट धेरै मानिसले रिपोर्ट गरेपछि फेसबुक सञ्चालक कम्पनी मेटाले बालेनको पोष्ट पेजबाट हटाइदिएको थियो ।

मेयर शाहले फेसबुक पेजबाट नेकपा (एमाले) लुम्बिनी प्रदेश सांसद रेखा शर्माको फोटोसहितको स्टाटस राखेका थिए । एमाले सांसद शर्माले बालशोषण गरेको र उनलाई पक्राउ गर्नुपर्ने भन्दै आइतबार स्टाटस राखेका थिए । उक्त पोष्टमा धेरै मानिसले एकसाथ रिपोर्ट गरेपछि मेटाले बालेनको पोष्ट पेजबाट हटाइदिएको थियो ।

उक्त पोष्ट हटेपछि बालेनले सरकारलाई चुनौति दिँदै फेरि अर्को पोष्ट फेसबुकमा लेखेका छन् । पोष्टमा भनिएको छ, ‘पोष्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।’ उक्त पोष्ट फेसबुकमा राखेको १५ मिनेटमै साढे ६ हजार बढी मानिसले समर्थन जनाउँदै लाइक र कमेन्ट गरिरहेका छन् ।

यसअघिको पोष्टमा बालेनले लेखेका थिए, ‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर, एक जना नबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनुभएको छ । काठमाडौँ महानगरले विगत दुई महिनादेखि कारबाही अगाडि बढाउनुभन्दा पनि यो सरकारले समाएको छैन । अदालतले पनि मुद्दा चलाऊ भनेर भनिसकेको छ ।’

बालेनले फेसबुकमा लेखेका थिए, ‘सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू, सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ? कि नसमाउने ?,’ मेयर बालेनले उक्त स्ट्याटस माइक्रो ब्लगिङ साइट एक्समा पनि राखेका थिए । त्यहाँ भने अहिले पनि यो पोष्ट हेर्न सकिन्छ ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलवार १७:५९

लोकप्रिय