सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका आठ स्थानीय तहमध्ये कोहलपुरमा बसाइँसराइँँ गर्ने सबैभन्दा धेरै

बाँके जिल्लाका आठ स्थानीय तहमध्ये बाहिरी जिल्लाबाट बसाइँसराइँँ गरेर आउने नागरिकमध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकामा आएको पाइएको छ । आर्थिक वर्ष २०८०–०८१ को तथ्याङ्क अनुसार जिल्ला बाहिरबाट बसाइँसराइँँ गरेर बाँके जिल्लाका विभिन्न पालिकामा आउने नागरिकको सङ्ख्यामध्ये सबैभन्दा बढी कोहलपुरमा आएको पाइएको हो ।

गत आर्थिक वर्षमा बाहिरी जिल्लाबाट बसाइँसराइँँ गरेर २०३९ परिवार बाँके आएका छन् । २०३९ परिवारका ६११० जना सदस्य जिल्लाका विभिन्न पालिकामा आएका हुन् । त्यसैगरी ९१८ परिवारका २६४८ जना सदस्य जिल्ला छाडेर अन्यत्र गएका छन् । गत आर्थिक वर्षमा बाहिरी जिल्लाबाट बाँके जिल्लामा बसाइँसराइँ गरेर आउनेको सङ्ख्या सबैभन्दा धेरै कोहलपुरपछि नेपालगन्ज, बैजनाथ र खजुरा रहेको छ ।

कोहलपुरमा गत आर्थिक वर्षमा ७६१ परिवारका २१६४ जना नागरिक बसाइँसराइँ गरेर आएको कोहलपुर नगरपालिकाका एमआइएस अपरेटर रोशन चापागाईँले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त वर्षमा २५४ परिवारका ६९९ जना सदस्यले बसाइँ सरेर अन्यत्र गएका थिए ।

नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडामा गत आर्थिक वर्षमा ५३३ परिवारका १६७८ जना सदस्य बसाइँ सरेर आएको नेपालगन्ज उपमहानगरपालिकाका पञ्जीकरण शाखाका कर्मचारी अमरकुमार चिडिमारले जानकारी दिए । उनका अनुसार उक्त वर्षमा नेपालगन्जबाट ३१२ परिवारका ९६८ जना सदस्यले बसाइँ सरेर बाहिरी जिल्ला गएका हुन् ।

बैजनाथमा गत आवमा ३६६ परिवारका ११५६ जना सदस्य बाहिरी जिल्लाबाट बसाइँसराइँ गरेर आएको र १४६ परिवारका ४०० सदस्यहरू बसाइँ सरेर अन्यत्रै गएको पञ्जीकरण शाखा प्रमुख यमुनाकुमारी शर्माले जानकारी दिइन् । खजुरा गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख राजेन्द्रकुमार वर्माका अनुसार खजुरामा २४४ परिवारका ७३३ जना सदस्यहरू बसाइँसराइँ गरेर आएका छन् ।

उक्त आवमा ९७ परिवारका २८६ जना सदस्य अन्यत्रै बसाइँ सरेर गएका छन् । डुडुवा गाउँपालिकामा गत आवमा बसाइँ सरेर कोही पनि नआएको पालिकाका एमआइएस अपरेटर कौशलकुमार कैराती (कुर्मी)ले जानकारी दिए । उनका अनुसार उक्त आवमा ४ परिवारका १६ जना सदस्य बसाइँसराइँ गरेर बाहिर गएका छन् ।

जानकी गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका एमआइएस अपरेटर राजीव चौधरीका अनुसार गत आवमा १ परिवारका ४ जना सदस्य बसाइँसराइँ गरेर आएका छन् भने २ परिवारका ६ जनाले बसाइँ सरेर बाहिर गएका छन् । नरैनापुरमा १५ परिवारका ४४ जनाले बसाइँ सरेर आएको र ६ परिवारका १९ जनाले बसाइँसराइँ गरेर अन्यत्र गएको पञ्जीकरण शाखाका एमआइएस अपरेटर गोविन्दप्रसाद गोडियाले जानकारी दिए ।

आर्थिक वर्ष २०७९–०८० मा कोहलपुरमा १३३६ परिवारका ४०७४ जना, नेपालगन्जमा ९२५ परिवारका ३०१५ जना, बैजनाथमा ५३५ परिवारका १८७४ जना, खजुरामा ३५४ परिवारका ११७६ जना, राप्तीसोनारीमा २५७ परिवारका ७८४ जना, डुडुवामा दुई परिवारका ८ जना, जानकीमा ३ परिवारका १२ जना र नरैनापुरमा १७ परिवारका ६४ जना गरी कुल ३४२९ परिवारका ११००७ जना बाहिरी जिल्लाबाट बसाइँसराइँ गरेर आएका थिए ।

त्यसैगरी कोहलपुरबाट ५२८ परिवारका १६१३ जना, नेपालगन्जबाट ५२२ परिवारका १५९५ जना, बैजनाथबाट २३७ परिवारका ७५० जना, खजुराबाट २१४ परिवारका ७२५ जना, राप्तीसोनारीबाट १७७ परिवारका ५७६ जना, डुडुवाबाट ४ परिवारका १८ जना, जानकीबाट ११ परिवारका ३८ जना र नरैनापुरबाट ११ परिवारका ५१ जना गरी कुल १७०४ परिवारका ५३६६ जनाले बसाइँसराइँ गरेर अन्यत्र गएको तथ्याङ्क रहेको छ ।

आर्थिक वर्ष २०७९–०८० मा भन्दा गत आर्थिक वर्षमा बसाइँसराइँ गरेर आउने र जानेको सङ्ख्यामा कमी पाइएको छ । गत आर्थिक वर्षमा भन्दा अघिल्लो आर्थिक वर्षमा जिल्लामा बसाइँसराइँ गरेर आउने तथा जानेको सङ्ख्या दोब्बर रहेको थियो । उक्त आर्थिक वर्षमा ३४२९ परिवारका ११००७ जना सदस्य जिल्लामा बसाइँसराइँ गरेर आएका थिए भने १७०४ परिवारका ५३६६ जना सदस्यले जिल्ला छाडेर अन्यत्र बसाइँसरेर गएका थिए ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलवार १७:४४

लोकप्रिय