सूचनाको शक्ति - The Power Of Information

        

छोरालाई विदेश पठाउन तस्करसँग घुस

अवकाशको मुखमा पुगेका डिआइजी यज्ञविनोद पोखरेलमाथि छानबिन शुरु भएको छ । केही दिनअघि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले रुपन्देहीमा आयोजित एक कार्यक्रममा ‘एक जना डीआइजी सा’ब फस्न लागेको’ संकेत गर्दा मधेश प्रदेशका डिआइजी यज्ञविनोद पोखरेललाई कारबाहीको लागि छानबिन शुरु भएको हो ।

असोजमा घर जान लागेका डिआइजी पोखरेलका केही घुमुवालाई काठमाडौं तानेर अनुसन्धान गरेपछि उनको कमजोरी देखिएकाले कारबाहीको तयारी गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । गिरिराजमणी पोखरेलमार्फत तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नजिक सम्बन्ध बनाएर मधेश प्रदेश पुगेका पोखरेलले घुमुवा खटाएर तस्करीको लाइन खुला गराएको उजुरी प्रहरी महानिरीक्षकको सचिवालयमा परेको थियो ।

त्यसकै आधारमा छानबिन हुँदै जाँदा उनलाई कारबाही गर्नुपर्ने अवस्थामा पुगेको प्रहरी प्रधानकार्यालयले जनाएको छ । केही दिनअघि जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आइजी कुँवरले कठोर बन्नुपर्ने परिस्थिति आएको जिकिर गर्दै डीआईजीलाई कारबाही गर्न लागेको संकेत गरेका थिए ।

‘तपाईंहरूले बुझ्नुपर्छ, तपाईंहरूको कागज चेक गर्दैछौं,’ उनले भने ‘म मात्र भन्नुस्, तपाईंको परिवार, तपाईंहरूको खाता, तपाईंहरूको साथी समेतको खाता चेक गर्दैछौं ।’ अनियमितताविरुद्ध आफू निर्मम रुपमा प्रस्तुत हुने जिकर गर्दै उनले यस्तो बताएका थिए । महानिरीक्षकको यो अभिव्यक्तिप्रति प्रहरी संगठनभित्र बहस भइरहेको अवस्थामा डिआइजी पोखरेल फन्दामा परेका हुन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालको उजुरी छानबिन शाखामा परेको एक उजुरीमाथि जाँच गर्ने क्रममा डिआइजी पोखरेलबारे पनि अनुसन्धान भएको थियो । डिआइजी पोखरेलको खातामा पैसा हाल्ने जनकपुरका बिचौलिया जितेन्द्र कर्णलाई प्रहरीले पक्राउ गरेपछि थप प्रमाणहरू फेला परेको बताइएको छ । पक्राउ परेका कर्णले डिआइजीको नाममा तस्करहरुसँग पैसा उठाउने र बुझाउने गर्दथे ।

डिआइजी पोखरेलले भने आफ्नो खातामा आएको रकम घुसको नभई छोरालाई विदेश पठाउन सापट मागेको दाबी गरेका छन् । केही दिनअघि नै उनलाई पक्राउ गर्न खोजिएपनि स्थानीयले अवरोध गरेका थिए । पोखरेलले विभिन्न नाकामा घुमुवा राखेर पैसा उठाएको समेत पुष्टि भएको छ ।

उनले खटाएका घुमुवाहरू सई चन्द्रप्रसाद यादव, असई उपेन्द्रप्रसाद यादव, वरिष्ठ हवल्दार निरजकुमार साह, हवल्दार बच्चेलाल यादव, बृजेश मुखिया, शैलेन्द्रप्रसाद कुर्मी, सहायक हवल्दार अशोककुमार यादव, ईश्वर अच्छामी, मुकुन्द शर्मा र जवान सतेशलाल कायस्थलाई उजुरी छानबिन शाखाले गणमा राखेर छानबिन गरिरहेको स्रोतले जनाएको छ ।

आफूलाई नेपाली कांग्रेसनिकट रहेको बताउने डिआइजी पोखरेल पछिल्लो पटक तत्कालीन गृहमन्त्री नारायणकाजीनिकट भएका थिए । गिरिराजमणी पोखरेललाई दाजु नाता लगाएका डिआइजी पोखरेललाई मधेश प्रदेश पठाइएको थियो । डिआइजी पोखरेलका आफन्त पर्ने एकजना पूर्व एसएसपीले तस्करीको लाइन खुलाउने र उठाउने काम गरिरहेको स्रोतले जनाएको छ ।

स्रोत : दृष्टिन्यूज
प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलवार १४:५६

लोकप्रिय