२०८३ जेठ ११ , सोमबार 25, May 2026, Monday
बुढेसकालमा दुःख

एकै परिवारका तीन जनाको निधनपछि गेगली गाउँमा शोक र भय

गेगली गाउँका श्यामलालको एकै घरका तीन सदस्यसहित गेगली गाउँकै १० वर्षीय युसुफ शेखकोे पनि भदौ १२ गते मृत्यु भएपछि गेगली गाउँवासी शोक र भयमा छन् ।
सत्यपाटीसत्यपाटी । बाँके । २०८१ भदौ १८ गते मंगलबार
परिवारका तीन जना सदस्यको निधन भएपछि विक्षिप्त बनेका श्यामलाल पासी ।

बाँकेको नरैनापुर गाउँपालिका–३ कालाफाँटास्थित गेगली गाउँ निवासी ३८ वर्षीया उषा पासी यही भदौ १० मा बिरामी परे । घरमै निको होला भन्दाभन्दै दुई दिनपछि उनको निधन भयो । श्यामलाल पासीको घरमा देखिएको झाडापखाला, ज्वरो र टाउको दुख्ने समस्या त्यत्तिमै रोकिएन ।

यस्तै लक्षणबाट सङ्क्रमित भएकी ६५ वर्षीया शान्ति पासीको भदौ १४ मा निधन भयो, यसको दुई दिनपछि भदौ १६ मा १२ महिनाकी नन्दनी पासीको पनि निधन भएपछि यतिबेला श्यामलाल विक्षिप्त हुन पुगेको छन् । पाँच दिनको अवधिमा बुहारी उषा, भाउजू शान्ति र नातिनी नन्दनीको निधन भएपछि उनी अहिले घरको बाहिरै टोलाएर बस्ने गर्छन् ।

‘सोच्दै नसोचेको दुःख व्यहोर्नुपर्यो घरमै ठिक होला भन्दाभन्दै भएन, अचानक पीडामाथि पीडा थपिएको छ,’ उनले भने, ‘स्वास्थ्य सस्थामा लैजान पनि नपाउँदै घरमै तीन जनाको निधन भयो ।’ श्यामलालको एकै घरका तीन सदस्यसहित गेगली गाउँकै १० वर्षीय युसुफ शेखकोे पनि भदौ १२ गते मृत्यु भएपछि गेगली गाउँवासी शोक र भयमा छन् ।

गाउँका अन्य नागरिकमा सङ्क्रमण फैलिन नदिन नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाले सोमबार बिहानैदेखि गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेपछि त्रास हट्दै गएको स्थानीय जाहिद अलि शेखले बताए । स्वास्थ्य शिविरमा श्यामलालले पनि स्वास्थ्य जाँच गरे । स्वास्थ्य अवस्था सामान्य रहेकाले स्वास्थ्यकर्मीले जीवनजल र पानी शुद्धीकरणका लागि पीयूष उपलब्ध गराएको उनले बताए ।

अचानक झाडापखाला, पेट दुख्ने र ज्वरो आउने समस्या देखिनासाथ घरमा उपचार गर्दागर्दै परिवारका तीन सदस्यको मृत्यु भएपछि श्यामलालले बुढेसकालमा ठूलो दुःख व्यहोर्नुपरेको छ । श्यामलालको एकै घरको तीन जनासहित गेगली गाउँमा एक हप्ताको बीचमा चार जनाको मृत्यु भएपछि सोमबार बिहानदेखि नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाबाट खटिएको स्वास्थ्य टोलीले स्थानीय मन्दिर प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो ।

३६५ नागरिकको स्वास्थ्य जाँच गर्दा अहिले गाउँका तीन जनामा मात्रै झाडापखालाको समस्या देखिएकाले अवस्था सामान्य रहेको कालाफाँटा स्वास्थ्य चौकीका प्रमुख मोहम्मद तैयब राइनले जानकारी दिए । ‘झाडापखालाको जोखिमको जानकारी पाएपछि हामी यहीँ छौँ, अहिले अवस्था सामान्य छ,’ उनले भने, ‘स्वास्थ्य जाँचका क्रममा झाडापखाला देखिएका तीन जनामध्ये दुई जना अहिले उपचारपछि घर फर्किएका छन् भने एक जनालाई भेरी अस्पतालमा पठाइएको छ ।’

भारतीय सीमासँग जोडिएको गेगली गाउँमा झाडापखालाबाट भदौ १२ गते स्थानीय ३८ वर्षीया उषा पासी र १२ वर्षीय युसुप शेखको निधन भएको थियो । भदौकै १४ गते ६५ वर्षीया शान्ति पासी र १६ गते आइतबार १२ महिनाकी बालिका नन्दनी पासीको मृत्यु भएको नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले बताए ।

उनले मृत्यु भएकामध्ये उषा, नन्दनी र शान्तिमा विषाक्त खानाको असरका कारण झाडापखालाको आशङ्का गरिएको बताए । युसुपमा ज्वरो आउने समस्या देखिएकाले झाडापखालाबाटै मृत्यु भएको भन्न सकिने अवस्था नरहेको स्वास्थ्य शाखा प्रमुख साहको भनाइ छ । झाडापखाला फैलिएको सूचना आएपछि गाउँपालिका स्वास्थ्य शाखाले सोमबार बिहानैदेखि गेगली गाउँमा खुला स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

शिविरमा जाँचका लागि आएका ३६५ नागरिकलाई स्वास्थ्य अवस्था अनुसार जीवनजल लगायत औषधी वितरण गरिएको उनले जानकारी दिए । स्थानीय ताज मोहम्मद खानले अझै पनि गाउँका मानिस बेलैमा उपचार गर्न स्वास्थ्य संस्था नगई घरेलु विधि अपनाउँदा अकालमै ज्यान जाने अवस्था रहेको बताए ।

प्रकाशित मिति : २०८१ भदौ १८ गते मंगलबार