सूचनाको शक्ति - The Power Of Information

        

श्रीकेश तेल उत्पादक कम्पनीलाई दुई लाख जरिवाना

काठमाडौं महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि आयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि कारबाही गरिएको हो ।

तेलको गुणस्तरका विषयमा गुनासो आएपछि महानगरपालिकाले गत असार ७ गते कम्पनीसँग विवरण माग गरेको थियो। माग गरिएको विवरणमा तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रणको विधि (फर्मुलेसन, रेसिपि मेथड) उल्लेख गरिएको कागजात प्राप्त नभएको र कारखानामा स्टाण्डर्ड अपरेसन प्रोसिड्युर (एसओपी) को अभिलेख नपाइएको महानगरको प्रतिवेदनले औंल्याएको जनाइएको छ ।

इण्डष्ट्रीको नाममा प्राप्त भएको आइओइएस प्रमाणपत्र उत्पादित तेलमा प्रयोग गरिएको छ जुन गर्न नहुने प्रतिवेदनमा उल्लेख छ । इण्डष्ट्रीले महानगरलाई उपलब्ध गराएको प्रयोगशाला प्रतिवेदनमा क्रमिक रुपमा सूक्ष्म जीवाणु परिमाण (माइक्रो बायोलोजिकल लोड, टोटल प्लेट काउन्ट) बढ्दै गएको देखिएको जनाएको छ ।

कपाल उमार्ने रासायनिक तत्वसम्बन्धी उत्पादकले स्वघोषणा गरेको ‘मिनोक्साइडिल’ उद्योगद्वारा प्रदान गरिएको परीक्षण प्रतिवेदनमा नभएको महानगरले जानकारी दिएको छ । यसपछिको प्रक्रियाका लागि महानगरपालिकाले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार ०७:०३

लोकप्रिय