हामी सन् २०२३ को अप्रिल महिनाको अन्तिम साता चुम भ्याली गएका थियौं, फुन्जोको कथा गर्न । छेकम्पारमा फुन्जोको वाल्यकालका सम्झनाहरु पछ्याउने क्रममा हामी गाउँ मास्तिरको चौंरी गोठमा पुगेका थियौं । यो हिउँदे गोठ थियो । त्यहिँ भेटिएका थिए प्रकाश । प्रकाश फुन्जोका वाल्यकालका सम्झनाहरुसँग पनि जोडिन्छन् ।
प्रकाशको बारेमा बुझ्दै जाँदा थाहा भयो उनी काठमाडौंमा गलैंचा बुन्न भनी आएका रहेछन् । गलैंचा कारखानाबाट वालमजदूरहरु निकालिए । प्रकाश अर्का सूर्य भनिने साथीसँग जोरपाटीतिर भौंतारिरहेका थिए । छेकम्पारकै एक जना मानिसले प्रकाश र सूर्यलाई गोठालो काम गर्न भनी लिएर गए । प्रकाशलाई ठ्याक्कै तिथिमिति थाहा छैन ।
तर उनले भने अनुसार सन् १९९० को दशकको मध्यतिर हुनुपर्छ । सँगै आएका साथी केही समयमै भागेर फर्किए । तर प्रकाश भाग्न सकेनन् । प्रकाशका मिल्ने साथी सूर्यले नै ‘काले’को नाम ‘प्रकाश’ राखिदिएका थिए । सूर्य अहिले कहाँ छन् प्रकाशलाई थाहा छैन । प्रकाशको विगतको बारेमा खोजिनिति गरेपछि वर्षौं हराएका उनलाई परिवारसँग भेटाइदिन पाए कस्तो हुँदो हो भनेर हामी कल्पियौं ।
प्रकाशले पनि घर खोज्ने इच्छा देखाए । साहु प्रकाशलाई सजिलै पठाउन मान्दैनन् भन्ने थाहा थियो । उनका केही शुभेच्छुकहरूले साहुलाई खबर नै नगरी सुटुक्क हिँड्ने सल्लाह दिए । तर हामीलाई चाहिँ सल्लाह गरेर नै जाँदा ठीक होला भन्ने लाग्यो । साहुलाई मनाउने जिम्मा प्रकाशले लिए । हामी विहान प्रकाशको साहुको घरमा पुग्यौं ।
साहुनी मानेकी थिइनन् । साहु दोधारमा थिए । एकछिन तनावको वातावरण भयो । साहुले १० दिनमा प्रकाशलाई गाउँमै ल्याएर नबुझाए ‘पुलिस केस गर्छु’ सम्म भने । हामीले तल जगत भन्ने ठाउँसम्म ल्याएर छाडिदिन्छौं भन्यौं । १० दिन भित्र प्रकाशलाई जिम्मा लगाउने शर्तमा हामीले गाउँ छाड्यौं । प्रकाशले भनेको झापाको तीन कठ्ठे भन्ने गाउँ पत्ता लगाउन साथी पर्वत पोर्तेलले सघाए ।
हामी सबै डर र अन्यौल बोकेर हिँडेका थियौं । प्रकाशको गाउँ र परिवार भेटिने नभेटिने टुङ्गो थिएन । त्यसपछि केके भयो कसरी प्रकाशका आफन्त भेटिए सबै कथामा नै हेर्न सकिन्छ । माथि भोजपुरमा प्रकाशका परिवारले ‘फर्कनु पर्दैन यहिँ बस्नु’ भनेका थिए । साहुलाई दिएको वचनले प्रकाश पनि बाँधिएका थिए, हामी पनि बाँधिएका थियौं । हामी काठमाडौं फर्कियौं ।
साहुका एक जना छोरा काठमाडौंमा बस्दा रहेछन् । हामीले उनलाई नै प्रकाशको जिम्मा लगायौं । उनले प्रकाशलाई छेकम्पार फर्काउने व्यवस्था गरे । यो बिचमा केही पटक प्रकाशसँग हाम्रो फोन सम्पर्क भएको थियो । र पछिल्लो पटक आज प्रकाशसँग फोनमा कुरा भयो । प्रकाशले भनेका केही कुराहरु उनकै शब्दमा,
‘म दशैं मान्न पोहोर गाउँ गएँ । गाउँ जानेमा बेलामा साहुले खर्च दिएनन् । यत्रो वर्ष काम गरेको पैसाको हिसाब छैन । साहुका विदेशमा भएका छोराले १ लाख पठाइदिए अनि काठमाडौंमा भएका छोराले ६० हजार । १ लाख ६० हजार बोकेर म नफर्किने गरी भोजपुर गएँ । घरको अवस्था साह्रै नाजुक रहेछ । आफ्नो जग्गा जमिन खासै छैन ।
अँधियाका केही हल बारी छन् । बाउले गोरु किन्नुपर्छ भन्नुभयो । एक हल गोरु किनिदिएँ । कान्छो भाइलाई विदेश जान ४० हजार दिएँ । बाउलाई औषधी र बैशाखी किनिदिएँ । चाडबाड मनाउँदा अलिअलि खर्च भयो । बाउलाई अहिले सन्चो छ । नागरिकता बनाउन खोजेको तर भएन । जन्मदर्ता चाहिन्छ । झापाबाट आएको बसाइसराई चाहिन्छ भने । पाँच–छ महिना गाउँमै बसेँ । गाउँमा जति दुःख गरे पनि केही नहुने । आफ्नो भन्ने केही छैन ।
बरु ज्यालादारी नै काम गरे पनि चुम भ्यालीमै अलिअलि कमाइन्छ जस्तो लाग्यो अनि म छेकम्पार फर्किएँ । यहाँ काम पनि पाइएन । पहिलाकै साहुको घरमा काम गर्न थालेको छु । मैले त दिनको १ हजार दिनुपर्छ भनेको छु । तर उनीहरु पैसाको कुरै गर्न चाहँदैनन् । उनी भन्छन्, ‘खै अब के गर्ने हो । के हुने हो मलाई पनि थाहा छैन । बाउले फोन गरेर ‘गोरुले दुःख दियो छिटो आइज’ भन्छ । दशैंमा फेरि भोजपुर जाने सोचेको छु ।’
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं