सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीको ३० वर्षे सेवा अवधिको आदेशविरुद्ध ‘भ्याकेट’ दर्ता

सरकारले नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि लागु नगर्नु भनि सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशविरुद्ध भ्याकेटको निवेदन दर्ता गराएको छ । गृह मन्त्रालय हुँदै महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा भ्याकेटको निवेदन दर्ता गराएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले बताए ।

सरकारले यसअघि एकल इजलासबाट जारी भएको अन्तरिम आदेश खारेज हुनुपर्ने माग गरेको उनले बताए । सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले प्रहरीको ३० वर्षे सेवा अवधि लागु नगर्न अन्तरिम आदेश जारी गरेको थियो । प्रहरीको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै प्रहरी अधिकृतहरू एकसाथ सर्वोच्च अदालत पुगेका थिए ।

भदौ १६ गते अवकाश हुन लागेका प्रहरीहरूले गत बुधबार (भदौ ५) मा सर्वोच्च अदालतमा ३० वर्षे सेवा अवधि खारेजीको माग गर्दै रिट दायर गरेका थिए । ट्राफिक प्रहरी प्रमुख समेत रहेका एसएसपी जीवनकुमार श्रेष्ठको नेतृत्वमा प्रहरी अधिकृतहरूले वारिसमार्फत रिट दायर गरेका थिए । उक्त रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले भदौ ६ गते सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

न्यायाधीश फुयाँलको इजलासले पहिलो सुनुवाइ गर्दै त्यस्तो आधारमा कसैलाई कुनै पत्राचार नगर्नू नगराउन समेत भनेको थियो । सर्वोच्चले उनीहरूको पदीय जिम्मेवारीमा परिवर्तन नगर्नु नगराउन र प्रहरी किताब खानामा यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन पनि भनेको थियो । यस्तै दाबी लिएर गएको सशस्त्र प्रहरीको विवादमा भने मंगलबार सर्वोच्चले कारण देखाऊ आदेश मात्र जारी गरेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलवार १८:३७

लोकप्रिय