आजका दिउँसै इजू, रनझनिया
इति के उज्यालो भयो, रनझनिया
कित बाबा लोली गौरा, रनझनिया
मरी आउलो मेरी इजू, रनझनिया…
नजिकै ढोल बज्छ । यही अठवाली गीतमा लय मिलाउँदै टाउकोमा बोकिएको गौराको प्रतीक नचाउँदै रमाउन व्यस्त छन् महिला । महिलाको खेलभन्दा अलिपर पुरुषको खेल जमेको हुन्छ; जहाँ चैत, धुमारी, ढुस्को खेलिन्छ । नजिकै युवाहरू वन डेउडा खेल्छन् । वन डेउडामा दोहोरी हुन्छ; जहाँ सवाल–जवाफ हुन्छ । यही र यस्तै चलिरहेको छ हिजोआज सुदूरपश्चिमका गाउँ र बस्तीहरूमा ।
अमुक्ताभरण सप्तमीका दिन भित्र्याइएको गौराको प्रतिमूर्तिलाई अष्टमीका दिन दुबोको पूजासहित गौरा र महेश्वरको विवाह गरिएको छ । गौरा र महेश्वरको विवाहपश्चात् गाउँ–टोलमा गौराका अवसरमा चैत, धुमारी, ढुस्को तथा डेउडा खेल्न सुरु गरिएको छ । गौरालाई अष्टमीका दिन पूजाआजा गर्दै मांगल गानका साथमा गौरा घरको आँगनमा ल्याएर राखिन्छ; त्यहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका साथमा नचाउने गरिन्छ ।

त्यसै दिनदेखि ठाउँठाउँमा डेउडासमेत खेलिने प्रचलन रहिआएको छ । सप्तमीमा भित्र्याइएको गौरा प्रतीकलाई कम्तीमा पनि पाँच रात राख्ने प्रचलन रहेको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा गौराका विषयमा विद्यावारिधि गरेका डा.टीएन जोशी बताउँछन् । ‘कम्तीमा पनि पाँच रातसम्म गौरालाई गौराघरमा राखेर पूजाआजा गरिन्छ,’ उनले भने, ‘त्यही समयमा फाग, चैत, धमारी, डेउडा खेल्ने गरिन्छ ।’
गौराको व्रत बस्दा मनमा शान्ति हुनुका साथै पतिको आयु लामो हुन्छ भन्ने जनविश्वास रहेको बताउँदै उनले भने, ‘शिव र पार्वतीको प्रतिमूर्ति मानेर पूजा गरिने हुँदा तीज र गौराको महत्त्व उत्तिकै छ ।’ अहिले डोटीको बरालगाउँ, गडसेरा, पूर्वीचौकी, कैलालीको मसुरियास्थित साझा बजार, गोदावरी नगरपालिकाको जमुनाभाडी, अत्तरिया वनदेवी मन्दिरपरिसर, धनगढीको वनदेवी मन्दिर, खुलामञ्चका साथै शिवपुरीधाममा पनि गौराका अवसरमा मांगल, चैत, धुमारीका साथै डेउडा खेलिन थालिएको छ ।

गौरामा अहिले गाउँघर तथा सहरबजार गुञ्जायमान बनेका छन् । सुदूरको गौरा संस्कृति पुस्तान्तरण हुन नसक्दा लोप हुने चिन्ता बढेको बताउँदै डेउडा प्रतिष्ठानका कोषाध्यक्ष प्रेम विवस चन्दले भने, ‘हामीले त्यही भएर पुस्तान्तरण गर्ने भन्दै यस वर्षदेखि गौरामा विद्यालयस्तरीय डेउडा प्रतियोगिता सञ्चालन गरेका छौं ।’ सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र डेउडा प्रतिष्ठानको संयुक्त आयोजनामा गरिएको ९औं संस्करणको गौरा महोत्सवमा डेउडा खेल्न तथा गौरामा रमाउन कलाप्रेमीहरू धनगढीस्थित खुलामञ्चमा आउन थालेको डेउडा प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ डेउडा गायक दलबहादुर बोगटीले बताए ।
उनले भने, ‘वर्षौंदेखि सुदूरको संस्कृति संरक्षण गर्नुका साथै वर्षमा एकपटक जमघट भएर डेउडा खेल्दै रमाउन सकून् भनेरै गौरा महोत्सव आयोजना गरिएको हो ।’ सप्तसती देवीले दक्षको अग्निकुण्डमा हाम फाल्दा आफ्नो सूक्ष्म रूपलाई हरियो घाँसमा छिपाई भौतिक देह विसर्जन गरेकाले हरियो घाँसमा सतीदेवीको बास हुन्छ भन्ने मान्यताअनुसार धानमा उम्रने साउँ घाँससहितको समष्टिगत रूप बनाई पूजा गर्ने परम्परा रहेको छ ।
यसरी गौरा देवीको पूजाआजा गर्दा विवाहित महिलाले आफ्नो पतिको दीर्घायुका साथै घरमा सुख र शान्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । पुरुषले जनै लगाएजस्तै यस पर्वमा महिलाले एक वर्षका लागि ‘दुबो–धागो’ लगाउने चलन रहेको बताइन्छ । सुदूरपश्चिममा मात्र नभई अहिले डेउडाले संघीय राजधानी काठमाडौंसम्म आफ्नो लोकप्रियता कायम गरेको छ । बसाइँसराइसँगै तराईका कञ्चनपुर र कैलालीमा पनि पहाडी समुदायले मनाउने गौरा पर्वमा खेलिने डेउडा सबैको आकर्षण बन्न पुगेको छ ।