सूचनाको शक्ति - The Power Of Information

        

उर्जामा समृद्धि

लोडसेडिङ अन्त्यपछि तीन गुणाले बढ्यो विद्युत् खपत

हरेक वर्ष विद्युत् माग बढेसँगै विद्युत् आपूर्तिमा चुनौती थपिएका छन् ।

मुलुकबाट विद्युतभार कटौती अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत् (ऊर्जा) खपतमा उल्लेख्य वृद्धि भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार ऊर्जा खपत तीन गुणा बढेको छ । आर्थिक वर्ष २०७२–०७३ मा तीन ७२ करोड युनिट ऊर्जा खपत भएकामा गत आव २०८०–०८१ मा १० अर्ब दुई करोड युनिट पुगेको छ । आठ वर्षको अवधिमा देशभित्रको विद्युत् खपत ६ अर्ब ५१ करोड युनिट वृद्धि भएको हो ।

आठ वर्षअघि विद्युत् खपत वृद्धिदर नै ऋणात्मक थियो । गत आवमा सबैभन्दा बढी गार्हस्थ्यतर्फ चार अर्ब ३१ करोड र औद्योगिक ग्राहकतर्फ तीन अर्ब ६९ करोड युनिट विद्युत् खपत भएको छ । बाँकी विद्युत् अन्य समूहका ग्राहकले खपत गरेका हुन् । आठ वर्षअघि १३१ युनिट रहेको प्रतिव्यक्ति ऊर्जा खपत गत आवसम्म आइपुग्दा ४०० युनिट पुगेको छ । आठ वर्षअघि बर्खायाममा समेत दैनिक आठ घण्टा विद्युतभार कटौती थियो ।

हिउँदमा दैनिक १४ घण्टासम्म विद्युतभार कटौती गर्नुपर्ने प्रक्षेपण थियो । विसं २०७३ को कात्तिकदेखि काठमाडौँ उपत्यका हुँदै क्रमिक रुपमा देशका प्रमुख सहरमा गार्हस्थ्यतर्फका ग्राहकको र त्यसपछि औद्योगिक ग्राहकको विद्युतभार कटौती अन्त्य गरिएको थियो । सरकारले २०७५ वैशाखदेखि सिङ्गो मुलुक विद्युतभार कटौतीमुक्त घोषणा गरेको थियो । आठ वर्षअघि ५८ प्रतिशत घरपरिवारमा मात्र विद्युत् पुगेको थियो । अहिले ९९ प्रतिशतमा विद्युत् पुगेको छ ।

विद्युतको पहुँच पुगेका घरपरिवारमध्ये ९७ प्रतिशत राष्ट्रिय ‘ग्रिड’बाट र दुई प्रतिशतले ग्रिडभन्दा बाहिर रहेका लघु जलविद्युत्, सौर्य ऊर्जा लगायतबाट विद्युत् उपभोग गरिरहेका छन् । आठ वर्षअघि विद्युत्का ग्राहक करिब ३० लाख रहेकामा हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेका छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत्भार कटौती अन्त्यपछि पर्याप्त निरन्तर विद्युत् आपूर्ति हुन थालेपछि विद्युत् खपत बढेको बताए ।

‘ठूला तथा साना उद्योगलाई निरन्तर विद्युत् आपूर्ति भइरहेको छ, यस अवधिमा उद्योगको धैरे ‘लोड’ स्वीकृत गरिएको छ, खाना पकाउने लगायत घरायसी प्रयोजनमा विद्युतीय उपकरणको प्रयोग बढेको छ, निजी तथा सार्वजनिक यातायातमा विद्युतीय सवारी साधनको प्रयोग बढिरहेको छ, विद्युतीकरण व्यापक रुपमा गरिएको छ जसका कारण आन्तरिक रुपमा विद्युतको खपत बढिरहेको छ,’ उनले भने ।

हरेक वर्ष विद्युत् माग बढेसँगै विद्युत् आपूर्तिमा चुनौती थपिएका छन् । त्यस्ता चुनौती र समस्याको समाधान गरी उपभोक्तालाई भरपर्दो, गुणस्तरीय, सुरक्षित विद्युत् आपूर्तिका देशका प्रमुख सहरलाई ११ क्लस्टरमा विभाजन गरिएको छ । यस्तै, सन् २०५० सम्मको मागलाई आपूर्ति गर्न सक्ने प्रसारण र वितरण संरचनाको गुरुयोजना तयार गरी क्रमिकरुपमा कार्यान्वयनमा लगिएको छ ।

कार्यकारी निर्देशक घिसिङले आन्तरिक रुपमा विद्युत्को खपत बढाउने, उत्पादन वृद्धि गरी आयात घटाउने र निर्यात वृद्धि गर्ने गरी काम भइरहेको उल्लेख गरे । आव २०७२–०७३ मा तीन अर्ब ७२ करोड युनिट रहेको विद्युत् खपत आव २०७३–०७४ मा (२८ दशमलव ४७ विन्दुले बढी) चार अर्ब ७७ करोड युनिट पुगेको थियो । आव २०७४–०७५ मा विद्युत् खपत पाँच अर्ब ५६ करोड, २०७५–०७६ मा छ अर्ब ३० करोड युनिट, २०७६–०७७ मा छ अर्ब ४२ करोड तथा २०७७–०७८ मा सात अर्ब २८ करोड युनिट भएको थियो ।

यसैगरी, आव २०७८–०७९ मा आठ अर्ब ८४ करोड, आव २०७९–०८० मा नौ अर्ब ३५ करोड र आव २०८०–०८१ मा १० अर्ब दुई करोड युनिट विद्युत् खपत भएको थियो । आव २०७९–०८० को तुलनामा आव २०८०–०८१ मा विद्युत् खपत करिब १० प्रतिशतले बढेको हो । गत आवमा पिक डिमान्ड (विद्युत् बढी माग हुने समय) अघिल्लो आव २०७९–०८० को तुलनामा ११ दशमलव ३४ प्रतिशत विन्दुले वृद्धि भएको थियो ।

गत आवको जेठ १६ गते देशभित्रको सबैभन्दा बढी विद्युतको माग रेकर्ड गरिएको थियो । उक्त दिन दुई हजार २१२ मेगावाट विद्युत् माग गरिएको थियो । बर्खायामका ६ महिना विद्युत् भारततर्फ निर्यात गर्ने अवस्था बने पनि हिउँदमा नदी प्रवाही जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटी केही महिना देशभित्रको माग धान्न विद्युत् आयात गर्नुपर्ने अवस्था छ । तर प्रणालीमा आयात गरिएको ऊर्जाको परिमाण भने घट्दै गएको छ । गत आवमा प्रणालीमा आयातित ऊर्जाको हिस्सा १४ दशमलव ६८ प्रतिशत रहेको छ ।

जुन अघिल्लो आवको तुलनामा आठ दशमलव ५७ प्रतिशत विन्दुले कम हो । विद्युत् निर्यात ४४ प्रतिशत विन्दुले वृद्धि भएको छ । गत आवमा भारतबाट एक अर्ब ९० करोड युनिट अर्थात् रु १६ अर्ब ९३ करोड बराबरको विद्युत् आयात गरिएको थियो । तर सोही अवधिमा एक अर्ब ९५ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरी रु १७ अर्ब ६ करोड आम्दानी भएको थियो । गत आवमा आयातभन्दा रु १३ करोड बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतवार १७:४९

लोकप्रिय