२०८२ माघ २५ , आइतबार 9, February 2026, Monday

खोल्साको टिमुर खेतीबाट लोभलाग्दो आम्दानी

सत्यपाटीसत्यपाटी । म्याग्दी । २०८२ जेठ १७ गते शनिबार

म्याग्दीका किसानले ख्यालख्यालैमा सुरु गरेको टिमुर खेती यहाँका किसानहरूको लोभलाग्दो आम्दानीको माध्यम बन्दै गएको छ । यहाँका गाउँमा किसानले कतै बिरूवा उमारेर टिमुर खेती गरेका छन् भने कतै खोल्साखाल्सी, पाखो र खेती नहुने ठाउँमा प्राकृतिक रूपमा उम्रेका बिरूवा र बोटहरूको संरक्षण गरी आम्दानी गरिरहेका छन् । आयुर्वेदिक चिकित्सामा टिमुरलाई धेरै रोगको औषधि मानिन्छ । यसको अचारले खानाका परिकारलाई स्वादिष्ट बनाइदिन्छ ।

त्यसैले बजारमा टिमुर प्रतिकिलो आलोमा रू ३०० देखि ५०० र सुकाएको रू एक हजार ५०० देखि रू दुई हजारसम्म बिक्री हुने गर्दछ । यस्तो बहुउपयोगी टिमुरको महत्व बुझेपछि यहाँका किसानले व्यावसायिक रूपमा नै टिमुर खेती सुरु गरेका हुन् । पाखो जग्गामा मात्रै होइन खेतीयोग्य जग्गामा समेत टिमुर लगाएका कृषकले टिमुरको फल बिक्री गरेर वार्षिक रू दुई लाखदेखि रु सात लाखसम्म आम्दानी गर्दै आएका कृषि प्राविधिकहरूले बताएका छन् ।

जिल्लाका सबैजसो स्थानीय तहमा टिमुर खेती हुन्छ । यहाँका मालिका, मङ्गला, अन्नपूर्ण, धौलागिरि र रघुगंगा गाउँपालिकाका लेकाली तथा बेसी क्षेत्र र बेनी नगरपालिका–३ भकिम्ली, वडा नं ९ घतान, तोरीपानी र वडा नं १० पात्ले खेत लगायत ठाउँमा व्यावसायिक रूपमा टिमुर खेती गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका सहायक वन अधिकृत एवं टिम्मुरविज्ञ चन्द्रमणि सापकोटाले टिमुर खेती यहाँका कृषकहरूको लागि आम्दानीको माध्यम बन्दै गएको बताए ।

उनका अनुसार जिल्लामा वार्षिक करिब तीन हजार केजी टिमुर उत्पादनको सम्भावना रहेको छ । टिमुर खेतीको व्यावसायिक उत्पादन गरिरहेका अगुवा कृषक लालबहादुर घर्तीले टिमुर ‘चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बिँड’ लोकोक्तिसँग मिल्ने महत्वपूर्ण वनस्पति भएको बताउँछन् । उनले नर्सरी स्थापना गरेर टिम्मुरका बिरूवा बिक्री गर्दै आएका छन् । टिमुर बिक्री गरेर गतवर्ष रू चार लाख ८६ हजार आम्दानी गरेका घर्तीले यसवर्ष टिमुर खेती विस्तार गरेको बताए ।

डिभिजन वन कार्यालयका अनुसार जिल्लामा २० वटा समूह गठन गरी टिमुर खेती विस्तार भइरहेको छ । जेठमा फल लाग्न सुरू हुने यो वनस्पति भदौ–असोजमा पाक्ने गर्छ र टिपेर सुकाएपछि बिक्रीका लागि योग्य हुन्छ । म्याग्दीमा वार्षिक पाँच हजार किलो टिमुरको माग भए पनि तीन हजार किलो मात्र उत्पादन हुने अनुमान गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । यहाँको टिमुर विदेशमा समेत निर्यात हुने गरेको छ ।

प्रकाशित मिति : २०८२ जेठ १७ गते शनिबार