महाकाली कोरिडोर अन्तर्गत निर्माणाधीन दार्चुला–टिंकर सडक खण्डमा नेपाली सेनाले दुईतिरबाट ट्रयाक खोल्न सुरु गरेको छ । दुम्लिङ र गागाबाट ट्रयाक खोल्न थालिएको हो । सेनाले व्यास गाउँपालिका–१ को छाँगरु गागाबाट सडक खन्न थालेको छ ।
यसअघि व्यास गाउँपालिका–३ तुसारपानी हुँदै वडा नम्बर २ को दुम्लिङ, कल्जु, आतुङती, तम्बाकु लगायतको ठाउँमा मात्र काम हुँदै आएको थियो । दार्चुला–टिंकर ७९ किलोमिटर सडकको ट्रयाक खुलाउन सेनाको निर्माण दल जुटेको छ । व्यास गाउँपालिका–३ तुसारपानीदेखि निर्माणको जिम्मा पाएको नसेनाले हालसम्म १५ दशमलव दुई किलोमिटर ट्रयाक खोलेको छ ।
नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार २०८०–८१ मा १३ दशमलव चार किलोमिटर सडकको ट्रयाक खोलिएकामा दुई किलोमिटर स्तरोन्नति भइसकेको छ । चालु आर्थिक वर्षमा एक दशमलव आठ किलोमिटर ट्रयाक खोलिएको तथा एक दशमलव दुई किलोमिटर स्तरोन्नति भएको छ । बजेट अभावका कारण द्रुत गतिमा काम हुन सकेको छैन ।
चालु आवमा रु नौ करोड मात्र प्राप्त भएको थियो । बजेट अभावमा निर्माण बन्द हुने अवस्था आएपछि सरकारले थप रु पाँच करोड व्यवस्था गरेको उनले जानकारी दिए । पछिल्लो पटक प्राप्त बजेटबाट व्यास गाउँपालिका–१ छाङरुमा क्याम्प निर्माण, स्काभेटर, कम्प्रेसर मेसिन जिलेटिन लगायत अत्यावश्यक उपकरण र अन्य निर्माण सामग्री ढुवानीमा सेना जुटेको छ ।
नेपाली सेनाले कडा चट्टानी भाग रहेको तुसारपानी नजिक फतङगाडमा २०० मिटर ट्रयाक खोलेको छ । व्यास गाउँपालिका–२ आतुङ्ती क्षेत्रमा ५०० मिटर र तम्बाकु क्षेत्रमा ५०० मिटरभन्दा बढी नयाँ ट्रयाक निर्माण गरिएको छ । अझै तल्लो क्षेत्रमा यो वर्ष तम्बाकु क्षेत्र जोड्ने गरी २०० मिटर ट्याक खुलाउने काम भइरहेको सैनिक प्रवक्ताले जानकारी दिए ।
‘दुवैतर्फबाट सडक जोड्ने गरी निर्माण भइरहेको छ,’ उनले भने, ‘छाँगरुबाट यो वर्ष दुई किलोमिटर ट्रयाक खुल्छ । माथिल्लो क्षेत्रमा कडा चट्टान नभएका कारण ट्रयाक खोल्न तुलनात्मक रूपमा सहज हुन्छ ।’ व्यास गाउँपालिका–३ तुसारपानीदेखि वडा नम्बर २ को माल, कोठधार, सगनाडी, दुम्लिङ, कल्जु र तम्बाकु क्षेत्रमा सडक निर्माण कार्य भइरहेको बताइएको छ ।
सेनाले सडक निर्माणको जिम्मा लिएको सडक खण्डको शून्य विन्दुदेखि पाँच किलोमिटर सडकमा माघ अन्तिम सातादेखि सवारी साधन सञ्चालन भएका छन् । यो सडकअन्तर्गत तुसारपानीदेखि मालगाउँसम्म गाडीमा यात्रा गर्न सकिन्छ । आर्थिक वर्ष २०७७–७८ देखि सडक निर्माण थालेको सेनाले हालसम्म १५ किलोमिटर मात्र ट्रयाक खोलेको छ ।
बजेट अभावकै कारण पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य पूरा नभएको निर्माणमा संलग्न एक इञ्जिनियरले बताए । उपकरण ढुवानी नहुञ्जेल व्यास गाउँपालिका–२ बाट मजदुर परिचालन गरेर खन्न थालिएको छ । तीनचार दिनदेखि स्थानीय र सेनाले बाटो खनिरहेका छन् । व्यास गाउँपालिका–१ का टिंकरका वडा सदस्य हितेश बुढाथोकीले सेनाले ढिलै भए पनि दुवैतर्फबाट काम थालेकोमा खुसी व्यक्त गरे ।
पर्याप्त बजेटको व्यवस्था हुनुपर्नेमा उनको जोड छ । उक्त वडाका अध्यक्ष अशोकसिंह बोहराको पनि यही माग छ । गत फागुनमा प्राप्त रु पाँच करोड अपर्याप्त भएको उनले बताए । प्राथमिकताका साथ पर्याप्त बजेट विनियोजन गरेर यो सडक बनाउनुपर्ने उनले बताए ।
यसैबीच, यही वैशाख २२ गते पूर्वमन्त्री गणेशसिंह ठगुन्ना नेतृत्वको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर तुसारपानी–टिंकर सडकका निम्ति कम्तीमा रु ५० करोड बजेट विनियोजन हुनुपर्ने माग गरेको छ । भारतले लिपुलेक–कालापानी सडकलाई दुई लेन बनाइरहेका बेला हाम्रातर्फ ट्रयाक खुलाउन बजेटको सुनिश्चिता हुनुपर्नेमा जोड दिइएको नेता ठगुन्नाले बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
नरेन्द्रसिंह कार्की । दार्चुला