सूचनाको शक्ति - The Power Of Information

        

राम्रो निन्द्राले बढाउँछ रोग प्रतिरोधी क्षमता

राम्रो निन्द्रा सम्पूर्ण स्वास्थ्यका लागि अति जरुरी छ । किनकि, राम्रो निन्द्राको समयमा शरीरले आफूलाई रिकोभर गर्छ । त्यसैबाट शरीरको रोग प्रतिरोधात्मक क्षमता मजबुत हुन्छ । र, हाम्रो सोच्ने र बुझ्ने क्षमता पनि बेहतर बनाउँछ ।

निन्द्रा प्रभावित हुनुको अनेक कारण हुन्छन् । राम्रो निन्द्राको लागि शयन कक्षको तापमान सही हुनु आवश्यक छ । र, ओछ्यान पनि आरामदायी हुनु जरुरी छ । सुत्नु ३–४ घण्टाअघि भोजन गरिसक्नुपर्छ । अपराह्नपछि चिया–कफी पिउनु हुँदैन ।

किनकि, चिया–कफीले निन्द्रा बिगार्ने जोखिम बढी हुन्छ । दैनिक नियमित समयमा सुत्ने बानी बसालौं । हाम्रो शरीरले सर्केडियन रिदममा काम गर्छ, जो २४ घण्टाको प्राकृतिक साइकल हो । यो साइकल उज्यालो र अँध्यारोबाट नियन्त्रित हुन्छ ।

दैनिक नियमित समयमा सुत्ने र जाग्ने बानीले शरीरको आन्तरिक घडी नियमित बनाउँछ । साप्ताहिक विदाको दिन पनि निश्चित समयमा सुत्नुपर्छ । किनकि, साप्ताहिक विदाको दिन ढिलो सुत्ने र ढिलो उठ्ने बानीले तपाईंको नियमित चक्र बिथोलिदिन्छ ।

सुत्नुभन्दा एक घण्टाअघि नै ग्याजेटहरू बन्द गरौं । स्मार्टफोन, ट्याब्लेट र कम्प्युटरजस्ता डिभाइसबाट निस्किने ‘ब्लू लाइट’ले हार्मोन मेलाटोनिनको उत्पादनमा बाधा पुर्याउँछ । सोही हार्मोनले हाम्रो निन्द्रालाई नियन्त्रित गर्छ ।

यदि सुत्नु केही समय अघिसम्म डिभाइस चलाउनुपर्नेछ भने ‘ब्लू लाइट फिल्टर’ प्रयोग गरौं । ब्रिदिङ टेक्निक ४–७–८ अपनाऊँ । रिल्याक्सेसन टेक्निकको अभ्यासले सुत्नुभन्दा अघि शरीरलाई संकेत गर्छ, अब आरामको समय हो । गहिरो सास लिने, प्रोग्रेसिभ मसल रिल्याक्सेसन तथा ४–७–८ ब्रिदिङजस्तो तरिकाबाट मनले शान्ति महशुस गर्छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतवार ०७:२४

लोकप्रिय