सुदूरपश्चिमको मौलिक पर्व गौरा आज (शनिबार)देखि विधिवत् रूपमा सुरु भएको छ । पञ्चमीदेखि सुरु हुने यो पर्वको शनिबार पहिलो दिन घरघरमा बिरुडा राखिँदैछ । आजको दिनलाई बिरुडा पञ्चमीसमेत भन्ने गरिन्छ । व्रतालु महिलाहरूले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गरिन्छ ।
तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिंगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौं, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ । गौरादेवीको पूजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ । पुत्रदा एकादशीको व्रत बसिसकेपछि भाद्र महिनाको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रूपमा सुरु हुने जानकी अवस्थीले बताइन् ।
‘एक महिना अगाडिदेखि नै शुद्ध शाकाहार र बह्मचर्यको पालना गरी बिरुडा पञ्चमीको दिन महिलाले मास, कलौं, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाडामा भिजाउने गरिन्छ ।’ उनले भनिन्, ‘बिरुडा भिजाइँदा मांगलिक सगुन फाँग गाउँछौं ।’ बिरुडा भिजाउने बेला महिलाहरूले स्थानीय भाषामा रहेको सगुन तथा बिरुडा भिजाउने बेलाको फाग गाउने उनले बताइन् ।
लागेका र आफूले पनि यो व्रत लिने इच्छा गरेकाले बिरुडाका लागि आवश्यक दाल तथा अन्न सामग्री खोजीदिन महादेव (स्थानीय भाषामा मयासर भनिने) लाई नगरमा गएर मागिल्याउन आग्रह गरेको कुराकानीबाट कथाको आरम्भ हुने उनको भनाइ छ ।
‘मयासरले यो वर्ष आफ्नो घरमा केही पनि नभएको हुनाले अर्को वर्ष सुरु गर्नभन्दा गौराले जिद्दी गरेपछि गौराको आग्रहबमोजिम नगरमा कलौं बिरुडी खोज्न गएको प्रसंग यस फागमा आउँछ ।’ उनले भनिन्, ‘यो पर्व पुरुषको व्रतबन्ध गरेजस्तै महिलाले दुबधागो लाउने पर्व पनि हो ।’ यसरी भिजाएका बिरुडालाई षष्ठीका दिन पखाल्ने प्रचलन रहेको उनले बताइन् ।
सप्तमी र अष्टमीका दुई दिन गौराका विशेष दिनको रूपमा लिइन्छ। सप्तमीका दिन नजिकैको धान खेतमा गएर धानसँगै उम्रिएको साउँ (धानजस्तै देखिने घाँस)बाट गौराको प्रतिमा बनाई ‘गौराघर’मा भित्र्याइले व्रतालु सरस्वती भट्टले बताइन् ।
‘गौरा हाम्रो ठूलो पर्व हो पुरुषजस्तै नारीले पनि यज्ञोपवीतका रूपमा दुबधागो लगाउने गर्छौं,’ उनले भनिन्, ‘गौराको पूजाअर्चनाले विशेषगरी श्रीमान् तथा घरपरिवारका सदस्यहरू निरोगी, दीर्घायु, परिवारमा सुख समृद्धिको लागि व्रत बस्ने हाम्रो चलन हो ।’
अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मंगलगानका साथमा गौरा नचाइन्छ । त्यसै क्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ, त्यहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाहरूका साथमा नचाउने गरिन्छ । आजकै दिनदेखि ठाउँठाउँमा देउडासमेत खेलिने प्रचलन छ ।
प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रूपमा भगवान् शिवकी अर्धाङ्गीनी शक्तिस्वरूपा पार्वती (गौरी)लाई गौरा देवीको रूपमा पूजाअर्चना गरिँदै आइरहेको पाइन्छ । तिनै शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा पर्व हो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । सुदूरपश्चिम