मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा फेरि हिमपहिरो झरेको छ । शुक्रबार दिउँसो धौलागिरी हिमाली श्रृंखलाबाट झरेको हिमपहिरोले मानवीय र भौतिक क्षति भने गरेको छैन । तर, बोक्सी खोलामा खसेको पहिरोले स्थानीयमा त्रास छाएको छ । स्थानीय प्रशासनले कालिगण्डकीमा वहाव बढ्न सक्ने भन्दै सचेत हुन आग्रह गरेको छ ।
थासाङ गाउँपालिका–२ का अध्यक्ष गौतम शेरचनका अनुसार धौलागिरी हिमश्रृंखला अन्तर्गतको टुकुचे पिक ६९२० मिटर (स्थानीयले मानापाथी हिमाल भनेर बुझ्छन्) माथिबाट हिमपहिरो झरेको हो । ‘दुई वर्षअघि पनि त्यही ठाउँमा हिमपहिरो खसेको हो । अहिले फेरि घटना दोहोरिएको छ,’ शेरचनले भने, ‘अघिल्लो पटकभन्दा यो पटक केही सानो आकारमा हिमपहिरो झरेको हो ।’ शेरचनका अनुसार हिमपहिरो खसेको ठाउँ चरन क्षेत्र हो ।
खसेको पहिरो छिप्लुङ खोला हुँदै तल आएर बोक्सी खोलामा मिसिन्छ । बोक्सी खोलामा आएको पहिरो पुन कालिगण्डकीमा मिसिन्छ । हिउँको ढिस्कोसहितको पहिरो खसेकोले हिउँ पग्लिँदै जाँदा कालिगण्डकीमा वहाव बढ्न सक्ने जोखिम रहेको उनले बताए । ‘खसेको पहिरोले माथि नै खोला थुनेको अनुमान छ । किनकी खोलामा पहिलेको आकारमा पानी छैन । त्यसैले वहाव एकाएक बढ्ने होकी भन्ने त्रास मात्र हो,’ उनले भने ।
मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेका अनुसार हिमपहिरोले खोला थुनिएको भएपनि खोलाको वहाव पूर्णरुपमा रोकिएर पानीको ताल बनेको भने छैन । तर, भित्रभित्र बगेको पानीले हिउँ पगाल्दै जाँदा पछि वहाव थपिन सक्ने जोखिम रहेको भने उनले बताए । ‘धौलागिरी श्रृंखला नै पहिरोको मुहान हो । अहिले नै क्षति भएको होइन । तर पछि कालिगण्डकीमा वहाव बढ्न सक्ने जोखिम भएकोले तल्लो तटका नागरिकलाई सचेत हुन भनेका छौं,’ उनले भने ।
‘मानव बस्तीभन्दा करिब दुई किलोमिटर माथिबाट पहिरो खसेको अनुमान छ,’ उनले भने । हिमपहिरोले खोला थुनिँदा ९० प्रतिशत जति पानी खोलामा कम भएको स्थानीयले बताएका छन् । खोला थुनिएको ठाउँ मुस्ताङ सदरमुकाम जोमसोमबाट १८ किलोमिटर टाढा पर्छ । थुप्रिएको भाग एकै पटक खोलिएमा तटीय क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।
‘खोलाको किनारमा नौ घर छन् । अहिले सुरक्षा टोली त्यही घर भएको क्षेत्रमा छ,’ पन्तले भने, ‘हिमपहिरो गएको ठाउँको अवस्था बुझ्न सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको छ । करिब दुई घन्टा (बेलुका ६ बजेसम्म) टोली त्यहाँ पुगेपछि यथार्थ अवस्था जानकारी हुन्छ ।’ उनका अनुसार बोक्सी खोला आसपासमा नौं वटा घर भए पनि ती घरमा अहिलेसम्म जोखिम भने निम्तिएको छैन । मानापाथी हिमालको फेदबाट खसेको हिमपहिरोले खोला थुनिएको बताइन्छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । मुस्ताङ