सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकामा बेपत्ता ममता काफ्लेका श्रीमान् नरेश भट्ट पक्राउ

अमेरिकाको भर्जिनियास्थित मनासस पार्कबाट बेपत्ता भएकी नेपाली नर्स ममता काफ्लेका श्रीमान् नरेश भट्टलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ । भर्जिनियाको मनासस पार्क प्रहरीले बिहीबार बिहान काफ्लेका श्रीमान् नरेश भट्टलाई शव लुकाएको अभियोगमा पक्राउ गरेको जनाएको छ । उनलाई शुक्रबार अदालतमा पेश गरिने भएको छ ।

ममताकी एक बर्षकी छोरीलाई डिपार्टमेन्ट अफ सोसल सर्भिसको हेरचाहमा राखिएको छ । बच्चा सुरक्षित भएको र डिपार्टमेन्ट अफ सोसल सर्भिस तथा प्रहरीद्वारा अनुमोदित उपयुक्त हेरचाहकर्ताद्वारा हेरचाह गरिएको प्रहरीको भनाई छ । घरमा रातभर खानतलासीपछि विहान नरेश भट्टलाई ममता भट्ट बेपत्तासँग सम्बन्धित भएको ठहर गर्दै पक्राउ गरेको हो ।

अधिकारीहरूले नरेश भट्टलाई बिहान १०ः४५ बजेतिर हत्कडी लगाएर घरबाट बाहिर निकालेका थिए । अहिलेसम्म ममता भट्टको अवस्था अज्ञात छ । मंगलबार १ वर्ष पुगेकी उनकी छोरीलाई बिहीबार बिहान प्रहरीले घरबाट निकालेका थिए । भर्जिनियाको मनसास पार्कबाट नेपाली नर्स ममता काफ्ले बेपत्ता भएको घटनामा अनुसन्धान गरिरहेको मनासस पार्क प्रहरीले घटनाको अनुसन्धानमा उनका श्रीमान् नरेश भट्टले समन्वय नगरेको बताएको थियो ।

बुधबार बेलुदेखि घरमा खानतलासी सुरु गरेको प्रहरीले खानतलासीकै बीचमा गरेको पत्रकार सम्मेलनमा अनुसन्धानमा उनका श्रीमान् नरेश भट्टले सहयोग नगरेको बताएको थियो । प्रहरीले उनका श्रीमान् भट्ट प्रहरी अनुसन्धानमा चासोको व्यक्ति अर्थात् पर्सन अफ इन्ट्र्रेस्ट भएको समेत बताएको थियो । प्रहरीले घरमा बुधबार बेलुकी ५ बजेतिर खानतलासी सुरु गरेको थियो ।

उक्त खानतलासी रातीसम्म चलेको थियो । मनाससबाट जुलाई ३१ देखि बेपत्ता ममता काफ्लेको बारेमा बुझ्न अगस्ट २ मा प्रहरी अधिकारीहरू उनका घरमा पुगेर उनका श्रीमान नरेश भट्टसँग कुरा गरेका थिए । तर श्रीमान नरेश भट्टले त्यतिबेला उनी हराएको रूपमा रिपोर्ट गर्न चाहेका थिएनन् । अगस्ट ५ मा मात्र भट्टले प्रहरीलाई सम्पर्क गरी ममता काफ्ले हराएको जानकारी दिएका थिए ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार ११:०९

लोकप्रिय