सूचनाको शक्ति - The Power Of Information

        

आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ ।

देशका केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोसी र मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइहेको छ ।

महाशाखाका अनुसार वाग्मती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । मधेसका प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भइरहेको छ । महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

सबै प्रदेशका केही स्थानमा तथा कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वाग्मती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । महाशाखाले आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ ।

कोसी, मधेस, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोसी, वाग्मती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार ०७:२६

लोकप्रिय