सूचनाको शक्ति - The Power Of Information

        

शनिबारसम्म मौसममा सुधार नहुने, भारी वर्षाको सम्भावना

तत्काल मौसममा सुधार हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार वर्षाको सम्भावना आगामी शनिबारसम्मै रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ सरेको छ । त्यसैले पश्चिमको तुलनामा पूर्वमा बढी वर्षा हुनेछ ।

दुई दिनअघिदेखि काठमाडौं उपत्यकासहित देशभर वर्षा भइरहेको छ । आज बिहान पनि देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ । पछिल्लो एक घण्टामा बर्दियाको दौलतपुर, कैलालीको बचिला र कचिला वर्षा मापन केन्द्रमा भारी वर्षा भएको छ ।

बुधबार राति सर्लाहीको पत्थरकोट, उदयपुरको सुन्दरपुर, सिन्धुपाल्चोक नाकोटे, कैलालीको टीकापुर र म्याग्दीको मङ्गलघाट जलमापन केन्द्रमा पनि मध्यमदेखि भारी वर्षा मापन भएको थियो । कैलालीमा वर्षाका कारण हिजोदेखि नै बस्ती डुबानमा परेका छन् । विभागले जारी गरेको बुलेटिन अनुसार आज भदौ ६ गते दिउँसो पनि सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ । भदौ ७ गते कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको प्रक्षेपण छ । कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ ।

भदौ ८ गते पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाब, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले सबैलाई अनुरोध गरेको छ । दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावनासमेत रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले भनेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार ०९:३२

लोकप्रिय