जाजरकोटको कुसे गाउँपालिका–७ धनरासी गाउँका ३८ वर्षीय शिक्षक धनबहादुर शाही दुई सातादेखि नेपालगन्जबाट सम्पर्कविहीन भएका छन् । शाही कुसे–७ स्थित जनता माध्यमिक विद्यालय समाइलामा अनुदान कोटामा कार्यरत नेपाली शिक्षक हुन्
उनी गत साउन १४ गते घरबाट नेपालगन्ज गएका थिए । साउन २५ गते नेपालगन्ज बसपार्क गेटनजिक रहेको मीना दैलेखी होटलबाट बेलुका ४ बजे बाहिरिएपछि सम्पर्कमा नआएको घरबाट सँगै हिँडेका आफन्त गोपी सिंहले जानकारी दिए ।
‘साउनमा विद्यालय बिदा भएकाले भारतमा म काम गर्ने मोडर्न फेसन सुपर मार्केटमा केही कपडा तथा सामग्री लिन जाउँ भनेर हामी १७ गते दैलेखी मीना होटलमा पुगेका हौँ । जेठान दाइले जुम्लाबाट रु ४० हजार पठाउँदै हुनुहुन्छ भनेपछि पर्खिँदा धेरै बसाइँ भयो । २५ गते दिनभरि कोठामा सुतेर बेलुका ४ बजे बाहिरिएपछि उहाँ फर्कनुभएको छैन,’ सिंहले भने ।
गत साउन २६ गतेसम्म आउनुहुन्छ कि भनेर कुरेको बताउँदै धनबहादुर नआएपछि घरमा ससुराबुबा हंसबहादुर शाहीलाई खबर गरेको सिंहले बताए । ससुरा नेपालगन्जमा आएर खोज्दा नभेटिएपछि आफैँ निवेदक भएर नेपालगन्ज जिल्ला प्रहरी कार्यालय, बाँकेमा खोजीका लागि निवेदन दिएको उनले बताए ।
यही भदौ २ गते नेपालगन्जबाट जाजरकोट फर्किएका सिंहले सम्पर्कविहीन शाहीको खोजीमा सहयोग गरिदिन सबैलाई आग्रह गरे । शिक्षक शाहीका बुबा हंसबहादुरले छोरा र ज्वाइँ गोपी सिंह सोही होटेलमा सँगै बसेको तर साउन २५ गते बाहिर गएर आउछु भनेर निस्किएको छोरा नफर्केको खबर पाएपछि आफू त्यही पुगेको बताए ।
उनले भने, ‘नेपालगन्ज पुगेर जताततै खोजियो तर उसलाई भेटाउन सकिएन । फोन पनि बन्द छ । खाना खाएको रु १६ हजार ९०० पुगेपछि ज्वाइँ गोपी छोरा आउने आशमा त्यही बस्नुभएको रहेछ ।’ होटल धनीलाई पछि तिरौँला भन्ने भाका गरी घर फर्केको पीडित शाहीले दुखेसो पोखे ।
हराएको धेरै दिनसम्म सम्पर्कमा नआएपछि जतिसक्दो चाँडो खोजी दिन उनले प्रहरी प्रशासनलाई आग्रह गरेका छन् । उक्त होटल धनी मीना सुनारले गत साउन १७ गते आफ्नो होटलमा पुगेका दुवै जना दश दिन जति होटलमा बसेका बताइन् ।
‘साउन २५ गते शिक्षक शाही कतिबेला बाहिरिनुभयो थाहा पाएनौँ । उहाँ नफर्केपछि खोजी सुरु गरेका थियौँ,’ उनले भनिन्, ‘दुवैले यहाँ बस्दा खाएको रु १६ हजार ९०० उहाँको बुबा, श्रीमती र बहिनीले पछि तिरौँला भनी नागरिकता लगायत आवश्यक कागजात लिएर घर फर्किनुभएको छ । हराउनुभएका शाहीको आजसम्म कुनै खबर पाएका छैनौँ ।’
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके