सूचनाको शक्ति - The Power Of Information

        

सातै प्रदेशमा भारी वर्षाको सम्भावना

देशका विभिन्न ठाउँमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको छ । बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको हो । काठमाडौंमा पनि वर्षा भइरहेको छ ।

मंगलबार साँझदेखि नै काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

कोसी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखा जनाएको छ । महाशाखाका अनुसार कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा हुनेछ ।

महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

त्यसबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाको आग्रह छ । दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ छ । जसका कारण वर्षा भइरहेको हो ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार ०७:१६

लोकप्रिय