सूचनाको शक्ति - The Power Of Information

        

डिआइजीको धन्दा गोरु तस्करी, घुमुवालाई पैसा उठाउने जिम्मा

सशस्त्र प्रहरीका आइजीपी राजु अर्यालले विश्वास गरेर कमाण्ड दिएका शम्भू सुवेदीले कमाउने मौका यही हो भनेर पूर्वका सबै जिल्लामा रहेका कमाण्डरहरूलाई फोनमा थर्काउने गरेका छन् । विरामी पनि रहेको र घरमा पनि जाने बेला भएका कारण कमाण्डमा पठाएका अर्यालले उनले जतिसक्दो बढी कस्ने र बराह बाहिनीमा नआउनेलाई निरीक्षणको नाममा आफैं पुगेर थर्काउने गरेका हुन् ।

विगतमा एकेडेमीमा हुँदा टायल प्रकरणमा मुछिएका डिआइजी सुवेदीले पूर्वमा आतंक मच्चाएको भन्दै सशस्त्र प्रहरी मुख्यालयमा उजुरी परेको छ । यतिमात्र होइन गृह मन्त्रालयमा पनि उजुरी परेको छ । खासगरी डिआइजी सुवेदीले मधेश प्रदेशको बाहिनी मातहत रहेका सिरहा, सप्तरी तथा बराह बाहिनी मातहत रहेको सुनसरी लगायत स्थानबाट तस्करहरूले गाईगोरु भारतको पश्चिम बंगालतर्फ तस्करी गर्न सहजीकरण गरिदिएको स्रोतको दाबी छ ।

झापास्थित नेपाल–भारत सीमा नाकाहरू बाहुनडाँगी, नक्कलबन्द, कचनकवल र ज्यामिरीगढी हुँदै पश्चिम बंगालसम्म पुर्याउने गरेको पाइएको छ । उक्त स्थानमा पहिले पनि गाईगोरु तस्कर हुदै आएको सूचना बाहिरिए पनि यो पटक भने प्रमाणित भएको छ । कतै जनपथतर्फ नेपाल प्रहरीको सेटिङमा तस्करी भइरहेको छ भने, कतै प्रहरीको आँखा छलेर तस्कर समूहले गाईगोरु भारत निकासी गर्दै आइरहेका छन् ।

नेपाल भारतको खुला सीमा क्षेत्रमा अवैधरूपमा गाईगोरु भारत निकासी गर्न उनै डिआइजीको सहयोग रहेको स्रोतको दाबी छ । गोरुगाई तस्करीमा सशस्त्र प्रहरीका सुनसरी बाहिनी प्रमुख डिआइजी शम्भु सुवेदीको संलग्नता रहेको स्रोतले जनाएको छ । सशस्त्र प्रहरी सुनसरीका प्रमुख समेनन्द बज्राचार्य डिआइजीका अगाडि चुपचाप सहन बाध्य भएका छन् । डिआइजी सुवेदीको सेटिङमा घुमुवा परिचालन गर्ने र घुमुवाले गोरु तस्करबाट पैसा उठाएर डिआइजीलाई बुझाउने गरेको स्रोतले बताएको छ ।

यसरी सीमा सुरक्षाको जिम्मेवारी पाएका डिआइजी स्वयं यो खेलोमा लागेका छन् । राती १२ बजेदेखि बिहान ४ बजेसम्म दिनभरी बटुलेका गाईगोरु ट्रकमा खाँदेर झापाको कन्काई नगरपालिका र मेची नगरपालिकास्थित मेची क्राउन होटल पछाडिको खाली ठाउँ जम्मा गरेर राखिने गरिएको छ । यसरी स्टकमा राखिएको गाईगोरु बिहान १ बजेको समयदेखि ४ बजेसम्म बाहुनडाँगी नक्कलबन्द, कचनकवल, ज्यामिरीगढी हुँदै पश्चिम बंगाल पुर्याउने गरिएको छ ।

यसमा झापाका सशस्त्र प्रहरीमा एसपी कविन्द्र राईको पनि मिलमतो रहेको स्रोतले जनाएको छ । सबै सेटिङ् मिलाइसकेपछि बल्ल गाईगोरुले भरिएको ट्रक नेपालको झापाका ती नाकाहरू हुँदै भारत पुर्याउने गरेको स्रोतको दाबी छ । सशस्त्र प्रहरी प्रशासनकै अघि प्रहरी उच्च अधिकारीहरुको मिलेमतोमा गैरकानुनी रुपमा यति ठुलो मात्रामा गाईगोरुहरु सिमा पार गराएर तस्करीमा उनै डिआइजीका घुमुवाहरु संलग्न रहेको स्रोतले जनाएको छ ।

सशस्त्रका डिआइजी शम्भु सुवेदीले आफ्ना पिए भूवन खड्काको सहयोगमा तस्कर जीवन थापाबाट करिब १५ दिनअघि ४ लाख २५ हजार रुपैयाँ घुस लिएको आरोप छ । सशस्त्रकै सादा पोसाकका निरिक्षक (इन्सपेक्टर) भीष्म सापकोटाको कमाण्डमा रहेका असई राजकुमार म्याङ्बो, अर्जुन कार्की, रामबहादुर कार्की र श्याम चौधरीले ५० हजारका दरले समेत उठाउने गरेको स्रोतको दावी छ । यसरी तस्करबाट कमिसन रकम उठाउनकै लागि सशस्त्र प्रहरीका डिआइजी सुवेदीले एउटा विशेष टोली नै बनाएर खटाएको पाइएको छ ।

तस्कर सञ्जिव घोषसँग समेत डिआइजीको निकट सम्बन्ध रहेको छ । डिआइजीका प्रिय पात्र एसपी कविन्द्र राईले पनि घोषसँगको गोप्य सेटिङमा तस्करी गर्दै आएको स्रोतले बतााएको छ । घोष कपडा र सुपारी तस्करीमा समेत संलग्न रहेको स्रोतले जनाएको छ । काँकडभित्तामा सशस्त्रका डीएसपी लोकनाथ उप्रेती कमाउधन्दाकै लागि झापा आएका छन् । लोकनाथ उप्रेतीले तस्करी बढाएको भन्दै केही समय पहिले मुख्यालयमा उजुरीसमेत परेको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार ०९:५३

लोकप्रिय