सूचनाको शक्ति - The Power Of Information

        

सहरी क्षेत्रमै खाना पकाउन अझै गुइँठाकै प्रयोग

खाना पकाउनका लागि तयार गरेर सुकाइँदै गरिएको गोबरको गुइँठा ।

सहरी क्षेत्रमा खाना पकाउन ग्यास, हिटर, इन्डक्सनको अत्यधिक प्रयोग भइरहे पनि ग्रामीण भेगमा भने अझै पनि धेरै ठाउँमा दाउरा र गुइँठा प्रयोग गरी खाना पकाउने गरिन्छ । बाँके र बर्दिया जिल्लाका कतिपय स्थानीय तहमा अझै पनि खाना पकाउन गाई, गोरु र भैँसीको गोबरबाट तयार हुने गुइँठा प्रयोग हुने गरेको छ ।

बाँकेको कोहलपुर नगरपालिका–१४ को ग्रामीण क्षेत्र चिडिमार बस्तीका स्थानीयले अझै पनि गोबरमा भुस, पराल मिसाएर घाममा सुकाएर बनाइएको गुइँठालाई नै इन्धनका रूपमा प्रयोग गर्ने गरेको स्थानीय ननकली चिडिमारले बताइन् । उनले आर्थिक अवस्था कमजोर भएको र खाना पकाउने ग्यासको मूल्य महँगो हुँदै गएसँगै काठ दाउरासमेत पाउन समस्या भएपछि विकल्पका रूपमा गुइँठा प्रयोग गर्दै आएको बताइन् ।

यस्तै राप्तीसोनारी–३ का हरि थापाले पनि खाना पकाउने ग्यास अति नै महँगो हुनुका साथै गाउँघरमा सहज रूपमा नपाइने हुँदा खाना पकाउन गुइँठा प्रयोग गर्ने गरिएको बताए । उनले चिसो मौसममा त गुइँठा प्रयोग गर्नेहरू अरू बेलाभन्दा धेरै हुने गरेको बताए । चिसो मौसममा अधिकांश मधेशी समुदायका परिवारले बढी गुइँठा प्रयोग गर्ने गरेको पाइन्छ ।

सो समयमा मधेशी गाउँबस्तीमा जाने हो भने घरको आँगन, छाना अनि घरको भित्ता भित्तामा र खेतका गरामा गुइँठा सुकाएको देखिन्छ । चिसोको मौसममा इन्धनका रूपमा गुइँठा प्रयोग गर्दा कोठा तातो हुने र आगोमा खानासमेत पाक्ने हुँदा ग्रामीण क्षेत्रमा बढी गुइँठा प्रयोग हुने गरेको डुडुवा कम्दीका रमेश यादवले बताए ।

उनले भने, ‘आर्थिक अभावका कारण ग्यास चुलो र सिलिन्डर किन्ने, विद्युतीय सामग्री प्रयोग गरी खाना बनाउने अवस्था सबैको छैन । यसले गर्दा दाउरा र गुइँठाको धुवाँमा खाना बनाउनुपर्ने बाध्यता छ । धुवाँले गर्ने असरबारे जानकारी नपाउँदा पनि बर्सौंदेखि गुइँठा र दाउराको प्रयोग भइरहेको छ ।’

अहिलेको अवस्थामा समेत दाउरा र गुइँठाको प्रयोग कम नहुँदा ग्रामीण क्षेत्रका महिला तथा बालबालिकामा दीर्घरोगको समस्या देखिने जोखिम बढेको छ । खाना बनाउँदा प्रयोग गरिने गुइँठाबाट निस्कने धुवाँका कारण भान्सामा काम गर्ने महिलाको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

धुवाँका कारण आँखा रातो हुने, दुख्ने, श्वासप्रश्वासमा समेत समस्या भएर ग्रामीण क्षेत्रबाट उपचारका लागि महिला अस्पतालमा आउने गरेको भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालले बताए । उनले विपन्न समुदायका घरमा बढी प्रयोग हुने गुइँठाका कारण महिला र बालबालिकाका आँखा र श्वासप्रश्वासमा समस्या हुने गरेको पाइएको बताए ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलवार ०८:०७

लोकप्रिय