हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित रहेको छ । न्यून चापीय रेखा उत्तरतर्फ हुँदा नेपालमा मनसुन थप सक्रिय भएर धेरै वर्षा हुन्छ । जसका कारण सातवटै प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।
देशभर आंशिकदेखि साधारणतया बदली रहँदा बिहान मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको हो । बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाइ छ ।
यसैबीच, दाङमा भारी वर्षा भएको छ । राति २ बजेदेखि दाङमा भारी वर्षा भएको हो । दाङको पदमपुर वर्षामापन केन्द्र लगायत आसपासका क्षेत्रमा भारी वर्षा मापन भएको छ । थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त क्षेत्र भएर बहने बबई र यसका सहायक नदीहरूमा तथा अन्य स–साना खोलामा बहाव केही बढ्ने महाशाखाले जनाएको छ ।
महाशाखाले ती नदी तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउन आग्रह गरेको छ । साथै पछिल्लो एक घण्टामा नवलपुरस्थित डण्डा वर्षामापन केन्द्र लगायत आसपासका क्षेत्रमा मध्यम वर्षा भएको छ । थप वर्षा हुनसक्ने सम्भावना रहेकाले नारायणी र यसका सहायक नदीहरूमा बहाव बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारी वर्षाको पनि सम्भावना रहेकाले गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाको आग्रह छ । दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात सेवामा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं