सूचनाको शक्ति - The Power Of Information

        

सात वटै प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा छ । जसका कारण देशभरका सात वटै प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सबै प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सबै प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा कोसी, मधेस र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । साथै मंगलबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार ०७:२७

लोकप्रिय