सूचनाको शक्ति - The Power Of Information

        

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

बाँके, बर्दिया र कैलालीमा मध्यम वर्षा, दैलेखमा भारी वर्षा ।

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल साधारणतयादेखि पूर्णतया बदली रहेको छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । राति, देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि सोमबार पनि देशभर साधारणतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँके, बर्दिया र कैलालीमा मध्यम वर्षा

बाँके, बर्दिया र कैलालीमा मध्यम वर्षा भइरहेको छ । पछिल्लो तीन घण्टामा बाँकेको नेपालगन्ज, खजुरा, बर्दियाको रम्भापुर, रानी जरुवा, कैलालीको टीकापुर वर्षामापन केन्द्रमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । थप वर्षा हुन सक्ने सम्भावना रहेकोले सो क्षेत्र भई बहने नदी तथा खोलामा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

डुुडुवा नदी, भादा (बबई) नदी, किरण नदी, मानखोला, पश्चिम राप्ती नदी, पथरिया नदी र यसका सहायक नदीहरूमा र अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकाले नदी तटीय क्षेत्रमा र डुबान भइरहने बाँके र बर्दिका होचा भू–भागहरूमा रहने नागरिकहरुले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ ।

दैलेखमा भारी वर्षा

दैलेखमा भारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५ बजे दैलेखस्थित कट्टी वर्षामापन केन्द्रमा भारी वर्षा मापन गरिएको छ । सो क्षेत्र भई बहने बेस्तडा खोला र अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकाले नदी तटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतवार ०७:५९

लोकप्रिय