सूचनाको शक्ति - The Power Of Information

        

सोलुको थामे गाउँमा प्राकृतिक विपत्ति, भेलबाढी पस्दा सिङ्गो गाउँमा क्षति

सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामे गाउँमा बाढीले क्षति गरेपछि पशुचौपाया उद्धार गर्दै सुरक्षाकर्मी । तस्वीर सौजन्य : सन्तोष राउत

सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामे गाउँमा भेलबाढी पस्दा सिङ्गो गाउँमा क्षति पुगेको छ । बाढीले कैयौँ घर, होटल र विद्यालयसमेत बगाएको छ । गाउँमा बाढीले १६ घर पूर्णरूपमा क्षतिग्रस्त बनाएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिए । उनका अनुसार अरू सात वटा घर बाढीको उच्च जोखिममा परेका छन् ।

सात वटामध्ये पाँच वटा होटल बगाएको छ । ताल फुटेर बाढी गाउँ पसेको अनुमान गरिएको उनले बताए । खुट्याउन माथिल्लो क्षेत्रमा जाने प्रयास गरे पनि प्रतिकूल मौसमका कारण जान नसकेको जानकारी उनले दिए । पाण्डेले भने, ‘सोलु सदरमुकामबाट हिँडेर जाँदा चार पाँच दिन लाग्छ, मोटर बाटो छैन, यहाँ हेलिकोप्टर पनि जान सकेन, स्थानीयको ज्यान जोगाउन यहीँबाट प्रयास गरिरहेका छौँ ।’

वडाध्यक्ष पासाङ ग्याल्जेन शेर्पाका अनुसार थामे गाउँमा ४५ घरधुरी थिए । उनका अनुसार बचेका घरहरूसमेत बाढीका बिचमा रहेकाले स्थानीय घर फर्कन सकेका छैनन् । उद्धार गर्न प्रहरी टोली पुगेको छ, तर राहतको टोली नपुग्दा गाउँलेहरू राति पनि खुला ठाउँमा बस्न बाध्य छन् । बाढीले स्थानीय विद्युत गृहमा क्षति पुर्याएकाले गाउँमा बिजुली छैन । खानेपानीको मुहान र पाइपमा पनि क्षति पुगेकाले अप्ठ्यारो परेको छ ।

त्यस्तै सञ्चार सम्बन्ध पनि अपराह्नपछि अवरुद्ध बनेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले काठमाडौँबाट राहत तथा उद्धार लैजान नसकिएको बताए । नेपाली सेनाको हेलिकोप्टरमा त्रिपाल, टेन्ट तथा खानेकुरासहितका राहतका सामग्री लैजान तयार पारिएको थियो । सोही हेलिकोप्टरले पहिरो गएको स्थान पत्ता लगाउन जाने तय भएको थियो । पोखरेलले भने, ‘शनिबार सखारै त्यता लाग्ने गरी अर्को तयारी गरेका छौँ ।’

केही झिक्न भ्याएनौँ

थामे गाउँका बासिन्दा शुक्रबार अरू दिन झैँ आफ्नो दैनिकीमा व्यस्त थिए । बिहान खाना खाएपछि बालबच्चा विद्यालय गए । खेती किसानी गर्नेहरू खेतबारी र चरन क्षेत्रमा गाईवस्तु चराउन व्यस्त थिए । शुक्रबार आधा दिनको छुट्टी भएकाले स्कुले केटाकेटी थामे निम्नमाध्यमिक विद्यालयबाट घर फर्के । कोही खाजा खान थाले । कोही खेल्न थाले । त्यहीबेला मध्य दिनमा अचानक गाउँमा ठुलो भेलपहिरोसहितको बाढी गाउँ पस्यो ।

स्थानीय पासाङसोनाम शेर्पाले भने, ‘गड्याङगुडुङ गर्दै ठुला ठुला ढुङ्गा र माटोसहित थामेखोला हुँदै आएको बाढी गाउँ पस्यो, अनि हामी सबै भागाभाग गर्दै डाँडातिर उक्लियौँ ।’ बाढी पसेपछि थामे गाउँ पहिले जस्तो रहेन । उनका अनुसार आकाशका बादलले छोपेर कालो थियो । दुई दिनअघिदेखि वर्षा होला जस्तो गरेर बादल गर्जे पनि शुक्रबारसम्म ठुलो वर्षा भएको छैन । हल्का सिमसिम पानी भने परेको शेर्पाले बताए ।

शेर्पाले थपे, ‘धन्न आज शुक्रबार भएकाले १२ बजे नै विद्यालयले विद्यार्थी घर पठाएका थिए, नत्र हाम्रा बालबच्चा बाँच्ने थिएनन् ।’ छात्रावासमा बसेर पढ्नेहरू पनि शुक्रबार र शनिबारको छुट्टी घरमै मनाउने गरी फर्केकाले बाढीबाट बाँचेको उहाँले जानकारी दिनुभयो । खाना खाएर थामेडाँडामाथि गफिँदै गर्दा थामेखोलामा भेलबाढी आएको देखेपछि हारगुहार गर्दै गाउँले सबै डाँडामाथि उक्लेका थिए ।

एक जना करिब ५० वर्षका स्थानीय निमानुरु शेर्पा गाउँमै अड्केका छन् । उनले शेर्पाले कानसमेत नसुन्ने भएकाले बोलाउँदा आउन नसकेको स्थानीयले बताए । बाढीले गाउँलेको घरभित्रका जायजेथा, पशुधन, खेतिपाती सबै बगाएको उनले बताए । शेर्पाले भने, ‘केही निकाल्नै भ्याएनौँ, यत्रो बाढी आउला भन्ने के थाहा, कत्तिको त खानेकुरा पनि छैन अब ।’

चोमुचे हिमताल फुटेको आशङ्का

गाउँमाथिको हिमताल फुटेर त्यसरी अचानक भेलबाढी आएको अनुमान गरिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पाछिरी शेर्पाले थामेखोलाको शिरमा रहेका हिमताल फुटेर बाढी आएको हुन सक्ने बताए । माथिल्लो भेगमा फोन सम्पर्क हुन सकेको छैन । त्यसैले कुन ताल फुटेको हो भन्ने यकिन छैन । स्थानीय पासाङसोनाम शेर्पाले भने थाने गाउँमाथिको पारे चोमुचे नामको हिमताल फुटेको दाबी गरे ।

गाउँबाट मानिस त्यो पोखरी छेउमा रहेको मन्दिरमा पूजाअर्चनाका लागि जाने गरेका छन् । वर्षा लागेपछि देवीदेउता भाकेर अनिष्ट नहोस् भनी झन् बढी पूजा गर्न जान थालेका थिए । तीन दिनअघिदेखि त्यो कुनामा पानी चाहिँ नपर्ने तर कालोमुस्लोसहितको बादल मडारिने, बादल गर्जने क्रम चलेकाले पनि स्थानीय त्यहाँ पुगेर देउता भाकिरहेका छन् । उनले भने, ‘कि त त्यही पोखरी फुटेको हुनुपर्छ, नत्र त्योभन्दा माथिको ताल फुटेर चोमुचेमा मिसिएर यता आएको हुनु पर्छ ।’

बाढीको बहाव बेलुका हल्का कम भएको थियो । थामेखोलाको ठुलो बाढी दुधकोशीमा मिसिएसँगै तल्लो तटीय क्षेत्रमा जोखिम बढेको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित जान अपिल जारी गरेको छ । दुधकोशी नदीको बहाव उच्च हुँदा सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको तल्लो तटीय गाउँहरू उच्च जोखिममा छन् । त्यस्तै पारिपट्टि खोटाङ क्षेत्रका नागरिकमा त्रास बढेकाले सतर्क रहन भनिएको छ ।

वडाध्यक्षसहित पदाधिकारी सबै गाउँबाहिर

थामे गाउँका बासिन्दा बाढीको विपत्मा परेर खुला ठाउँमा रात बिताउन बाध्य छन् तर गाउँको जनप्रतिनिधिसहितका पदाधिकारी भने कोही काठमाडौँ र कोही अन्य क्षेत्रमा रहेका छन् । जनप्रतिनिधिविहीन भएकाले राहत र उद्धारको व्यवस्था राम्रो हुन सकेको छैन । वडाध्यक्ष पासाङ ग्याल्जेन शेर्पा, सदस्यहरू फूलमाया कामी र आङमाया शेर्पा काठमाडौँमा छन् । अर्की सदस्य ङवाङ जाङ्मु शेर्पा सोलुखुम्बुको नाम्चे बजारमा छन् ।

त्यस्तै अन्य सदस्य पनि गाउँमा नरहेको स्थानीयले बताए । गाउँमा विपत् आएपछि काठमाडौँबाट गाउँ फर्कन तयार भए पनि खराब मौसमका कारण जहाज नगएपछि वडाध्यक्षसहितका पदाधिकारी यतै अड्किएका छन् । घर फर्किन त्रिभुवन विमानस्थलमा धेरैबेर बसेर डेरा फर्किएको वडाध्यक्ष ग्याल्जेन शेर्पाले बताए । नाम्चेमा रहेकी जाङ्मुले भने, ‘गाउँमा बत्ती छैन, टेलिफोन पनि चलेको छैन, गाडी जाने बाटो पनि भत्केको छ, म यतै अलपत्र छु ।’ बाढीले ओर्लाङघाटको मोटरेबल पुलमा क्षति पुर्याएपछि आवागमन ठप्प हुँदा खुम्बुको यातायात सम्पर्कविच्छेद भएको छ ।

स्रोत : गोरखापत्र अनलाइन
प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार ०८:५०

लोकप्रिय