विशेषगरी पिँडालुको कलिलो पात, दूध, दही लगायत वस्तु सम्मानस्वरुप आफ्ना छरछिमेकीहरुलाई बाँडेर मनाइने ओल्के पर्व आज (शनिबार) सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासका साथ मनाइँदैछ । यो पर्व हरेक वर्ष भाद्र संक्रान्तिका दिन मनाइन्छ ।
ओल्के चाडमा बढी प्रयोग हुने दूध–दहीको जोहो गर्ने र मीठा–मीठा परिकार बनाउनुपर्ने भएपछि घरका गृहिणीको व्यस्तता पनि बढ्छ । आफ्ना मान्यजन, इष्टमित्र, छरछिमेकीलाई सगुनका रुपमा पिँडालुको गाभा, दूध, दही, अन्य हरियो सागपात दिएर स्वागत गर्ने विशिष्ट खालको मौलिक परम्परा यो प्रदेशमा रहेको छ ।
ओल्के चाड मनाइने भाद्र संक्रान्तिका दिन विवाहिता छोरीलाई माइती घरमा आमन्त्रण गरी लाउन, बावर, माणा, निसौसे, डुब्का लगायत स्थानीय खानाका मीठा परिकार पकाएर खुवाउने र खाने प्रचलन छ । ओल्के (ओल्को) भन्नाले आफूभन्दा ठूलो र सम्मानित घरपरिवार वा व्यक्तिलाई दिइने सगुन वा उपहार भन्ने बुझिन्छ ।
ओल्के चाडको दिन गाउँ नजिकको डाँडामा जम्मा भएर रूखबिरुवाका हाँगा र झ्याङ काटेर एक ठाउँमा थुप्रो बनाउने गरिन्छ । यसलाई स्थानीय भाषामा ‘बुढी हालेको’ भनिन्छ । यसरी बनाइएको थुप्रोलाई असोज संक्रान्तिको साँझ गाउँका सबैजना भेला भएर पोल्ने गर्छन् । यसलाई ‘बुढी पोल्ने’ भनिन्छ ।
बुढी पोल्ने काम सकिएसँगै गाउँमा अनिष्ट एवं कुनै रोगको महामारी नआउने जनविश्वास रहि आएको छ । खासगरी पहाडी क्षेत्रमा बसोबास गरिरहेकाहरुले ओल्के चाडमा भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिँधेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रङ्गाइ रमाउने पनि गर्दछन् ।
यसरी पिँधेर लगाइएको भँगेरीको लेदोबाट हत्केला र खुट्टाको औँलाको छाला रातो हुने भइ यसले वर्षाको मौसममा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने छाला सम्बन्धी रोगको सङ्क्रमणबाट बच्न सकिने जनविश्वास रहेको छ । यस्तै, साउनको महिना रागस (राक्षस) बाट बच्न भनेर घर–घरमा राखिने झिझिरकाँडा (कुरिलो) निकालेर आज (ओल्के)कै दिन दोबाटोमा ल्याएर पोल्ने गरिन्छ ।
घरका मानिसहरु साउनको महिना रोपाइँ गर्न तथा खेत गोडमेल गर्न जानुपर्ने र घरमा स–साना बालबालिकाहरु एक्लै छाड्नुपर्ने भएकाले राक्षसको प्रकोपबाट बचाउन भन्दै हरेक घरको ढोकामा कुरिलो राखिन्छ । साउन महिनाभर राखिएको कुरिलो भदौ संक्रान्तिमा पोल्ने गरिन्छ ।
सदियौँदेखि मनाइँदै आएको यो चाडको रौनक र महत्त्वका बारेमा वृद्धवृद्धा केही जानकार रहे पनि पछिल्लो केही दशकदेखि नयाँ पिँढीका युवायुवतीमाझ भने यो चाडले प्राथमिकता पाउन छाडेको स्थानीय जानकारहरु बताउँछन् । युवा पिँढीमा प्राथमिकता नपाउँदा डोटेली मौलिक संस्कृति बोकेको ओल्केजस्ता चाडपर्वहरुको मौलिकता नै हराउन थालेकामा डोटेली समुदायमा चिन्ता व्यक्त गर्न थालिएको छ ।
ओल्के संक्रान्तिका दिन गाँउ नजिकैका उच्चो टाकुरामा सबै जना मिलेर रूखका हांगा बिंगा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाइ स्थानीय भाषामा ‘बुढी’ हाले भन्ने गरिन्छ ।
भाद्र संक्रान्तिका दिन हालेको बुढीलाई असोज संक्रान्तिका दिन साँझको समयमा पोल्ने चलन रही आएको छ । असोजको संक्रान्तिलाई बुढी पोल्ने संक्रान्ति भन्ने गरिएको छ । यो दिन प्रत्येक घरबाट आगोको राँको लगेर सामूहिक रुपमा बुढी पोल्ने गरिन्छ ।
सुदूरपश्चिममा साउन १ गतेबाट सुरु भएको बत्ती बाल्ने महिना पनि समापन भएको छ । श्रावण महिना सकिएर भाद्र महिना लागेसंगै बत्ती बाल्ने महिना पनि समापन भएको स्थानीय संस्कृतिका जानकारहरुले बताएका छन् । श्रावण महिनालाई धार्मिक महिनाको रुपमा मान्ने चलन रही आएको छ ।
यो महिना देवीदेवताका मन्दिरहरुमा बत्ती बाल्ने, रातभर जाग्राम रहने लगायतका चलन रही आएका छन् । साउने संक्रान्तिदेखि सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम, बाजुरा लगायत जिल्लामा साउनलाई विशेष धार्मिक महिनाका रुपमा लिई मन्दिरमा पूजापाठ गर्ने चलन रही आएको छ ।
श्रावणको महिना यो क्षेत्रका प्रसिद्ध धार्मिक शक्तिपीठहरुको दर्शन गर्ने चलन रही आएको छ । साउनको महिना देवीदेवता बैकुण्ठमा शयन गर्ने अर्थात् सुत्ने भएकाले यस महिनालाई कालो महिना पनि भन्ने गरिएको पण्डित बासुदेव जोशीले बताए । शयन गरेका बेला बत्ती बालेपछि देवीदेवता जागृत हुने र कुनै पनि वैरी नलाग्ने जनविश्वास रहिआएको छ ।
साउन १ गतेदेखि भक्तजनले बिहानै उठेर नुहाइधुवाई गरी एक महिनासम्म ब्रत बसी देवीदेवताका मन्दिरमा गई पूजापाठ गर्नाले मनले चिताएको पूरा हुनाका साथै अञ्जानमा गरिएका पाप कर्म नष्ट हुने धार्मिक विश्वास रही आएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । सुदूरपश्चिम