२०८२ माघ ३ , शनिबार 17, January 2026, Saturday

विपद्का कारण देशभर १७४ जनाको मृत्यु

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ साउन ३१ गते बिहीबार

अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपद्मा परी बुधबार दिउँसोसम्म १७४ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार काठमाडौँ तीन जना, कोशी प्रदेशमा २६ जना, मधेस प्रदेशमा आठ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १७४ जनाको मृत्यु भएको हो ।

बाढीपहिरोले काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५५ जना र सुदूरपश्चिम प्रदेशमा २८ जनागरी जम्मा २२४ जना घाइते भएका छन् ।

बाढीपहिरोबाट कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा तीन जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा पाँच जनागरी जम्मा ११३ जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए ।

उनले भने, ‘बाढीपहिरामा परी कोशी प्रदेशमा दुई जना, मधेस प्रदेशमा एक जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा दुई जना, लुम्बिनी प्रदेशमा एक जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी ४९ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।’

बाढीका कारण हालसम्म जम्मा ३८४ घर डुबानमा परेका प्रहरीले जनाएको छ । २८६ वटा घर, १०४ वटा गोठ, ४८ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । बाढीपहिरोले ८१६ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का कारण चार हजार ४०३ घर परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ साउन ३१ गते बिहीबार