मनसुनजन्य विपद्बाट पछिल्लो दुई महिनामा १७० जनाको मृत्यु भएको छ । गत जेठ २८ देखि यही साउन २४ गतेसम्म विभिन्न विपद्का घटनामा परी ४४ जना बेपत्ता तथा १९५ जना घाइते भएका छन् । मनसुनजन्य विपद्ले सबैभन्दा बढी गण्डकी प्रदेशमा ५४ जनाको मृत्यु भएको छ । सबैभन्दा कम मधेस प्रदेशमा तीन जनाको मृत्यु भएको छ ।
गतवर्ष सोही अवधिको तुलनामा यसवर्ष मनसुनजन्य घटनाबाट मृत्यु हुनेको सङ्ख्या बढेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । गतवर्ष सोही अवधिमा ७२ जनाको मृत्यु, २८ बेपत्ता र एक सय जना घाइते भएका थिए । यसवर्षको मनसुनजन्य विपद्बाट दुई हजार ९९८ घरपरिवार प्रभावित भएका छन् । विपद्बाट १९७ निजी घर पूर्ण र १७० घरमा आंशिक क्षति पुगेको छ ।
यस्तै तीन सरकारी कार्यालय र पाँच पक्की पुल, १५ झोलुङ्गे पुल तथा एक जलविद्युत् आयोजनामा क्षति पुगेको प्राधिकरणले जनाएको छ । दुई महिनाको अवधिमा बाढीका १६९, पहिराका ३३६, भारी वर्षाका २२८ र चट्याङका ८८ गरी ८४८ विपद्का घटना भएका छन् । बाढीबाट ३६ को मृत्यु, पाँच बेपत्ता र २४ घाइते भएका छन् ।
पहिरोमा परी १०९ जनाको मृत्यु, ३९ बेपत्ता र ९६ घाइते, भारी वर्षाबाट एकको मृत्यु र २० घाइते तथा चट्याङबाट २४ को मृत्यु र ५५ जना घाइते भएका छन् । सो अवधिमा आगलागी, हावाहुरी, जनावर आक्रमण, वन डढेलो, लोक लाग्नु र सर्पदंशलगायत अन्य विपद्का ४७१ घटना भएका प्राधिकरणले जनाएको छ । ती घटनामा परी १९ जनाको मृत्यु भएको छ ।
यस अवधिमा देशभर १७१.७ मिलिमिटर वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागले यसवर्ष औषतभन्दा बढी पानी पर्ने अनुमान गरेको थियो । गत जेठ २८ गतेदेखि नेपालमा मनसुन प्रवेश भएको थियो । यसवर्ष कञ्चनपुरको चाँदनी दोधारामा अहिलेसम्मकै बढी वर्षा भएको थियो । जलमापनको ७७ वर्षको इतिहासमा कञ्चनपुरमा सबैभन्दा धेरै ६२४ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।
बाढी पहिरामा परी घाइते भएका २३ जनालाई हवाई उद्धार तथा उच्च जोखिममा रहेका एक हजार २२७ जनालाई जीवितै उद्धार गरिएको प्राधिकरणले जनाएको छ । नेपाल प्रहरीका आठ हजार २५२, सशस्त्र प्रहरी बलबाट पाँच हजार ८१७ र नेपाली सेनाबाट चार हजार ७०८ गरी १८ हजार ७७७ सुरक्षाकर्मी खोज, राहत तथा उद्धारमा संलग्न भएका छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं