दुई हप्ताअघि बाँकेको नेपालगन्जमा राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)का सूचक (जासुस) कुटिए । भारतबाट नेपाल भित्र्याइँदै गरेको अवैध रुपैयाँ रोक्न खोज्दा नेपाल–भारतको सीमाक्षेत्र जमुनाहा नाकामा सूचक अर्जुन खड्का कुटिएका थिए ।
उक्त रकम नेपालगन्जस्थित होटेल कलपत्रुमा सञ्चालित क्यासिनोका निम्ति ल्याइएको थियो । अनुसन्धान विभागका सूचकमाथि क्यासिनोकै कर्मचारी अर्जुन खनालले कुटपिट गरेका थिए । प्रहरीका अनुसार, अवैध रकमबारेको सूचना प्रहरीलाई नदिई खड्का आफैँले नियन्त्रण गर्न खोज्दा कुटाइ खाएका हुन् ।
तर, आफूहरूको सूचनालाई बेवास्ता गरिएको गुप्तचरको भनाइ छ । प्रहरीले कुनै चासो नदिँदा अवैध रकम भित्र्याइएको र खड्का आफैँले नियन्त्रणमा लिन खोज्दा कुटिएको विभागले दाबी गरेको छ ।
बाँकेमा राष्ट्रिय अनुसन्धान विभागको प्रमुख उपअनुसन्धान निर्देशक (एसपी)मा ओम खड्का र नेपाल प्रहरीको एसपीमा तुलबहादुर कार्की छन् । कार्की र खड्काबीचको समन्वय अभावमा घटना भएको बुझिन्छ । बाँकेका प्रहरी प्रमुख एवं एसपी कार्कीले भने घटना हुँदा आफूलाई कुनै सूचना नभएको बताए ।
‘हामीलाई कुनै जानकारी गराइएको थिएन । कुटपिट भएपछि पनि होटेल कलपत्रुमा कुटपिट भएको भनियो । त्यहाँ वडा प्रहरी कार्यालयबाट तुरन्त प्रहरी निरीक्षक पठायौँ । तर, घटना त्यहाँ भएकै थिएन,’ एसपी कार्कीले भने । पछि जमुनाहामा कुटपिटको खबर गुप्तचरले नै दिएपछि आफ्नो टोली त्यहाँ पुगेको उनको भनाइ छ ।
गुप्तचरका सूचक खड्कामाथि कुटपिट घटनाको छानबिन गर्न लुम्बिनी प्रदेश प्रहरी कार्यालयले समिति गठन गरेको छ । उक्त कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) माधव श्रेष्ठ नेतृत्वको समितिले घटनाबारे छानबिन गरिरहेको लुम्बिनी प्रदेशका प्रहरी प्रमुख (डीआइजी) कुवेर कडायतले जानकारी दिए ।
डीआइजी कडायतले भने, ‘गुप्तचरको सूचक कसरी कुटिए, हामी छानबिन गर्दैछौँ । छानबिनपछि घटनाको यथार्थ बाहिर आउँला । अहिले अनुसन्धानकै क्रममा छौँ ।’ सूचक खड्कामाथि कुटपिट गर्ने होटेल कलपत्रुका कर्मचारी खनाललाई प्रहरीले पक्राउ गरे पनि दोस्रो दिनमै छोडिएको थियो । पीडित सूचक र गुप्तचर निकाय दुवैले उनीविरुद्ध उजुरी नदिएकाले मुद्दा नचलाई छोडिएको थियो ।
राष्ट्रिय अनुसन्धान विभाग कपिलवस्तुका उपअनुसन्धान निर्देशक (एसपी) गोपाल पन्थीलाई भने केन्द्रीय कार्यालयमा तानिएको छ । अवैध कारोबारीसँग घुलमिल र आर्थिक अनियमितता गरेको पाइएपछि पन्थी तानिएका हुन् । पन्थीले एक व्यवसायीसँग पैसा मागेको अडियो सार्वजनिक भएको थियो । गुप्तचर विभागले उनीमाथि आन्तरिक छानबिन गरेको थियो ।
छानबिनका क्रममा उनको कमजोरी देखिएपछि फिर्ता बोलाइएको विभाग स्रोतले जानकारी दियो । यसअघि, गुप्तचरकै मोरङका एसपी तिलक प्रसाईंविरुद्ध समेत एक व्यवसायीलाई धम्क्याएर रकम असुल गर्न खोजेको उजुरी परेको थियो । प्रधानमन्त्री कार्यालयमा परेको उजुरीमाथि विभागले छानबिन गरेको थियो । तर, कुनै कमजोरी नदेखिएपछि उनलाई यथावत् राखिएको विभागले जनाएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके