सङ्घीय राजधानी काठमाडौँ जाने बस सेवा बन्द भएको करिब चार वर्ष बितिसकेको छ । प्रदेश राजधानी धनगढीसम्म जोड्ने हवाई सेवा पनि तीन वर्षदेखि ठप्प छ । लामो दुरीको बस र प्रदेश राजधानीको हवाई सेवा बन्द हुँदा बर्खाका बेला स्थानीयलाई मर्का परेको छ । जिल्ला सदरमुकाममा बसपार्क भए पनि काठमाडौँ चल्ने लामो दुरीको बस सेवा सुचारु छैन ।
करिब १७ करोड रुपैयाँ खर्च गरेर निर्माण गरिएको पाटन विमानस्थल पनि २०७८ चैत ११ गतेदेखि बन्द छ । विमानस्थलको धावनमार्ग र टर्मिनल भवन आकर्षक छ तर यहाँबाट न हवाई उडान सञ्चालनमा छ, न त काठमाडौँ जाने बस नै पाइन्छ । बैतडीबाट सिधै काठमाडौँ जाने यात्रु नभएका कारण बस सेवा बन्द गरिएको महाकाली यातायात काउन्टरका दानसिंह थापाले बताए ।
त्यस्तै पाटनमा रहेको विमानस्थल कालोपत्रेपछि २०७७ साल असोजमा तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले उद्घाटन गरेका थिए । उद्घाटनपछि एक दिन विमान उडे पनि त्यसपछि भने सुनसान बनेको छ । स्थानीय वसन्त विष्टले हवाई सेवा बन्द हुँदा आकस्मिक उद्धार तथा हवाई सेवाबाट जिल्लावासी वञ्चित भएको बताए ।
महाकाली अञ्चलको पुरानो सदरमुकाम समेत रहेको पाटन विमानस्थल पहाडी सम्पर्क केन्द्रका रूपमा परिचित रहेको थियो । देशका १० वटा नयाँ सहरमध्ये पाटनमा पनि नयाँ नमुना सहर आयोजनाको कार्यालय स्थापना भएको छ । पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहोराले राज्यले करोडौँ रुपियाँ खर्च गरेर बनाएको विमानस्थलमा हवाई सेवा नियमित गर्नुपर्ने धारणा राखे । उनले सरकारी स्वामित्वका एयरलाइन्स सञ्चालनका लागि पहल गरेर हवाई सेवा दिनुपर्ने बताए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बैतडी