सूचनाको शक्ति - The Power Of Information

        

गायक प्रकाश तिमिल्सिनाको निधन

गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । उनी शनिवार साँझ भैँसेपाटीस्थित डेरामा अचेत अवस्थामा फेला परेका थिए । परिवारका सदस्यहरूले उनलाई तत्काल पाटन अस्पताल पुर्याएका थिए । तर चिकित्सकले उनलाई मृत घोषित गरे ।

तिमिल्सिनाको शव आइतबार बिहान ८ बजे सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान नक्साल भगवती बहालमा अन्तिम श्रृद्धान्जलीका लागि राखिने संगीकार चेतन सापकोटाले जानकारी दिए । तिमिल्सिनाको अन्तिम संस्कार आइतबार पशुपति आर्यघाटमा गरिने बताइएको छ ।

तिमिल्सिना गायन प्रतियोगिता ‘नेपाली तारा’ मार्फत सङ्गीत क्षेत्रमा उदाएका थिए । भैँसेपाटीमा बस्दै आएका तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका दर्जनौँ गीतले उनलाई नेपाली सङ्गीत प्रेमीहरू माझ एक परिचित र सम्मानित गायकका रूपमा स्थापित गराएको थियो ।

तिमिल्सिना सङ्गीतलाई आफ्नो जीवनको सर्वश्व ठान्थे । विभिन्न रेडियो र टेलिभिजन कार्यक्रमहरू तथा दुई दर्जन बढी देशका साङ्गीतिक कार्यक्रममा सहभागी भएर उनले आफूलाई नेपाली सङ्गीतमा स्थापित गरेका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतवार ०७:१६

लोकप्रिय