सूचनाको शक्ति - The Power Of Information

        

शेख हसिना अझै प्रधानमन्त्री !

सत्ता छाडेर भारत भागेकी बङ्गलादेशकी निर्वाचान प्रधानमन्त्री शेख हसिना अझै प्रधानमन्त्री रहेको उनका छोराले दाबी गरेका छन् । हसिनाका छोरा सजीव वाजेदले आफ्नी आमाले प्रधानमन्त्री पदबाट आधिकारिक रूपमा राजीनामा नदिएको पनि दाबी गरेका छन् ।

अमेरिकाको वासिङ्टनबाट वाजेदले समाचार संस्था रोयटर्ससँग कुरा गर्दै आफ्नी आमाले प्रधानमन्त्री पदबाट राजीनामा दिइनसकेको र संविधानअनुसार उनी अझै प्रधानमन्त्री रहेको दाबी गरेका हुन् ।

‘मेरी आमाले आधिकारिक रूपमा राजीनामा दिनुभएको छैन । त्यसका लागि उहाँले समय नै पाउनुभएन,’ वाजेदले भने, ‘उहाँले वक्तव्य जारी गरेर राजीनामा दिने तयारी गर्नु भएको थियो । तर आन्दोलनकारीहरूले प्रधानमन्त्री निवास घेरेर र्‍याली गर्न थाले । उहाँले आफ्नो सामान त सबै प्याकिङ गर्न भ्याउनु भएन ।’

‘संविधान अनुसार उहाँ अझै पनि देशको प्रधानमन्त्री हुनुहुन्छ,’ उनको दाबी छ । राष्ट्रपतिले सैनिक प्रमुख र विपक्षी दलहरूसँग परामर्श गरेर संसद् विघटन गरे पनि प्रधानमन्त्रीले औपचारिक रूपमा राजीनामा नदिई गठन गरिएको अन्तरिम सरकारविरुद्ध अदालत जान सकिने चेतावनी उनको छ ।

यसैबीच उनले आगामी चुनावमा हसिना नेतृत्वको अवामी लिगले पनि भाग लिने बताए । ‘अवामी लिग फेरि शक्तिमा आउनेछ भन्नेमा म पूर्ण विश्वस्त छु । त्यसो हुन नसके हामी विपक्षी दल बन्नेछौँ,’ उनले भने ।

अवामी लिगले फेरि हसिनालाई नै प्रधानमन्त्रीको उम्मेदवार बनाउने हो त भन्ने प्रश्नमा वाजेदले भने, ‘यसै पनि मेरी आमा यही कार्यकालपछि विश्राम लिने तयारीमा हुनुहुन्थ्यो । यदि पार्टीले चाहेमा त सायद । यस विषयमा म पक्कै विचार गर्नेछु ।’ वाजिद जोयले आफ्नी आमा बंगलादेश फर्किने पनि बताएका छन् ।

टाइम्स अफ इन्डियालाई दिएको फोन अन्तर्वार्तामा सजीवले भने, ‘मेरी आमा शेख हसिनाको कुनै पनि देशमा शरण लिने मनसाय छैन ।’ उनले आफ्नी आमा हसिना केही समयका लागि मात्र भारतमा रहेको बताए । अन्तरिम सरकारले चुनाव गराउने निर्णय गरेलगत्तै आफ्नी आमा बंगलादेश फर्किने उनको दाबी छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतवार ०७:०२

लोकप्रिय