बालबालिकाको क्षेत्रमा कर्णाली प्रदेश सरकारको लगानी न्यून रहेको छ । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बालअधिकारका लागि साझा अभियान (सीसीआर) कर्णाली प्रदेशले तीन आर्थिक वर्षको बजेटका आधारमा गरेको अध्ययनअनुसार बालबालिकाका क्षेत्रमा करिब दुई प्रतिशत मात्र बजेट विनियोजन भएको देखिएको हो ।
प्रदेश सरकारले विनियोजन आव २०७८–०७९ देखि आव २०८०–०८१ सम्मको बजेटलाई विश्लेषण गरिएको थियो । यसअन्तर्गत आव २०७८–०७९ मा प्रदेश सरकारले छुट्याएको ३८ अर्ब ४७ करोड ४२ लाख ७९ हजार कुल बजेटमध्ये ७० करोड ६० लाख नौ हजार १३ रूपैयाँ अर्थात् एक दशमलव ८४ प्रतिशत मात्रै बालबालिकाको क्षेत्रमा विनियोजन भएको छ । आव २०७९–०८० मा बालबालिकाको क्षेत्रमा बजेट घटेको देखिएको छ ।
कुल ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रूपैयाँ बजेटमध्ये बालबालिकाको क्षेत्रमा ५५ करोड ६५ लाख ३४ हजार ६२८ रूपैयाँ अर्थात् एक दशमलव ८९ प्रतिशत मात्रै विनियोजन भएको छ । गत आवमा बालबालिकाको क्षेत्रमा कुल बजेटको एक दशमलब ८९ प्रतिशत मात्र रकम विनियोजन भएको प्रदेशस्थित सीसीआरका कार्यक्रम संयोजक टेकराज आचार्यले जानकारी दिए । गत आवमा कुल ३३ अर्ब ३७ करोड ९७ लाख बजेट विनियोजन गरिएको थियो ।
बजेटमा बाल अधिकारका चार क्षेत्रलाई समावेश गरिएको उनले बताए । आचार्यका अनुसार प्रदेश सरकारले बालबालिकाको क्षेत्रमा विनियोजित बजेटबाट तीन आर्थिक वर्षमा एक हजार ६५५ वटा क्रियाकलाप गरेको छ । आव २०७८–०७९ मा ५०८, आव २०७९–०८० मा ५७४ र गत आवमा ५७३ वटा बालबालिका सम्बन्धिका क्रियाकलाप भएका उनले जानकारी दिए ।
सीसीआरले प्रदेशका पाँच स्थानीय तहको बजेट अध्ययन तथा विश्लेषण गरेको थियो । सो क्रममा स्थानीय तहले बालबालिकाको क्षेत्रमा बजेट वृद्धि गरेको पाइएको सीसीआरका संयोजक आचार्यले बताए । उनका अनुसार दैलेखको गुराँस गाउँपालिका, कालिकोटको शुभकालिका र तिलागुफा नगरपालिक तथा जाजरकोटको छेडागाड नगरपालिका र कुशे गाउँपालिकाको बजेट अध्ययन गरिएकामा ती पालिकाले बालबालिकाको क्षेत्रमा लगानी बढाउँदै गएका देखिएको हो ।
कालिकोटको शुभकालिका गाउँपालिकाले आव २०७८–०७९ मा कुल बजेटको चार, आव २०७९–०८० मा १७ र गत आवमा २६ प्रतिशत बजेट बालबालिकाको क्षेत्रमा विनियोजन गरेको छ । तिलागुफाले आव २०७८–०७९ मा चार प्रतिशत बजेट छुट्याएकोमा गत आवमा कुल बजेटको २७ प्रतिशत बालबालिकाको क्षेत्रमा विनियोजन गरेको छ । जाजरकोटको छेडागाड नगरपालिकाले आव २०७८–०७९ मा नौ प्रतिशत रहेकामा गत आवमा बजेट बढाएर ३१ प्रतिशत पुर्याइएको छ ।
कुशे गाउँपालिकाले आव २०७८–०७९ मा पाँच र गत आवमा २३ प्रतिशतसम्म बजेट विनियोजन गरेको छ । दैलेखको गुराँस गाउँपालिकाले बालबालिकाको क्षेत्रमा आव २०७८–०७९ मा १२, आव २०७९–०८० मा १३ र गत आवमा १५ प्रतिशत बजेट विनियोजन गरेको सीसीआरका संयोजक आचार्यले जानकारी दिए । प्रदेशका अन्य पालिकाकोसमेत बजेट विश्लेषण गर्नेगरी तयारी गरिएको सीसीआरले जनाएको छ ।
यसैबीच बजेट विश्लेषण समीक्षा कार्यक्रममा सरोकार भएकाले बालबालिकाको क्षेत्रमा लगानी बढाउन तिनै तहका सरकारले प्राथमिकता दिन आग्रह गरेका छन् । आज कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरिएको समीक्षा कार्यक्रममा सहभागीले बालबालिकाको क्षेत्रमा लगानी गरे मात्रै समृद्धि हासिल हुने भन्दै लगानी बढाउन आग्रह गरेका हुन् । प्रदेशस्थित सीसीआरका अध्यक्ष टीकाराम आचार्यले प्रदेश सरकारले बालबालिकामा लगानी गर्न नसकेको जनाउँदै यस्तो अभ्यासले समृद्धि हासिल गर्न नसकिने बताए ।
उनले प्रदेशमा बालबालिकाको जनसङ्ख्या ४० प्रतिशत रहेको जनाउँदै भविष्यका कर्णधारको शिक्षा, स्वास्थ्यलगायत विकासमा बजेट तथा कार्यक्रम बढाउनुपर्ने र सोको प्रभावकारी कार्यान्वयन गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा विभिन्न संघसंस्था तथा सरोकार भएकाले बजेट विश्लेषण नतिजाले बालबालिकाप्रति सरकार संवेदनशील नदेखिएको गुनासो गरेका थिए ।
प्रदेशस्थित सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीले बजेट विश्लेषणको नतिजाले तीन तहका सरकारको क्षेत्रअधिकारलाई समेत ध्यान दिनुपर्ने बताए । उनले बालबालिकाको क्षेत्रमा बजेट बढाउन आवश्यक रहेको भन्दै प्रदेशमा बनेका योजनालाई कार्यान्वयनमा ध्यान दिइने प्रतिबद्धता जनाए । बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसार राज्यको दायित्वको व्यवस्थासमेत गरिएको छ । सोहीअनुसारको योजना निर्माण र कार्यान्वयन गर्नुपर्ने सरोकार भएकाले सुझाव दिएका छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
टेकराज केसी । कर्णाली