तीन दिनदेखि जारी बर्सातले राप्ती नदीमा बाढीको सतह बढ्दै जाँदा बाँकेको राप्तीसोनारी र नरैनापुरवासीको निद्रा हराएको छ । ‘विगतमा बाढी रोकथामका लागि लगाइएको तटबन्ध भत्किएर बगिसक्यो, राप्ती नदी अब कटान गर्दै गाउँतिर सोझिएको छ,’ राप्तीसोनारी–७ खल्ला झगडियाका शंकर यादवले भने ।
उनका अनुसार ठूलो बाढी आयो भने गाउँमा पसेर बगाउँछ भन्ने चिन्ताले बर्सातको समयमा राम्ररी निदाउन पनि सकिन्नँ । दिउँसो नदीमा बाढी आएको थाहा हुने भए पनि रातिमा धेरै समस्या हुने यादवको भनाइ छ । तटबन्ध नहुँदा राप्तीको तल्लोतटीय क्षेत्रमा पर्ने राप्तीसोनारी र नरैनापुर गाउँपालिकाको खेतीयोग्य जमिन नदीले दिनहुँजसो कटान गरिरहेको छ ।
अहिलेसम्म सयौँ बिघा खेतीयोग्य जमिन नदी कटानमा परिसकेको छ । राप्ती नदीबाट बस्ती जोगाउन गरिएको तटबन्ध दुई वर्षअघि आएको बाढीले भत्काएपछि यतिबेला शंकर मात्र नभइ राप्तीसोनारी–७ मा पर्ने देउपुर्वा, खल्ला झगडिया, नन्कौपुर, पिप्रहवा र नरैनापुर गाउँपालिकामा पर्ने कुदरबेटवा, जमुनी, गंगापुर, सोनवर्षा लगायत गाउँका करिब एक हजार परिवार राम्रोसँग निदाउन नसकेको पिप्रहवाका दुर्गाप्रसाद पाण्डेले बताए ।
‘दिउँसोको समयमा बाढी आए भागदौड गर्न सकिएला तर रातको समयमा आए हाम्रो ठूलो धनजनको क्षति हुने भएकाले राज्यले ध्यान दिन जरुरी छ,’ उनले भने, ‘तटबन्ध भत्किएको दुई वर्ष भइसक्दा पनि राज्यले हाम्रो समस्यालाई गम्भीररूपले नलिएको हुँदा थप चिन्तित छौँ ।’ जिल्लास्थित सुरक्षा निकायका प्रमुख लगायत विभिन्न दलका नेताले निरीक्षण गरे पनि अहिलेसम्म काम अगाडि बढ्न नसकेकोमा स्थानीयवासी चिन्तित छन् ।
‘सांसददेखि जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले निरीक्षण गरेर फर्किनुभयो तर अहिलेसम्म काम अगाडि बढ्न सकेको छैन । बेलैमा काम अगाडि नबढे धेरै क्षति हुने निश्चित छ,’ नरैनापुर–६ का वडाध्यक्ष प्रेमचन्द्र मौर्यले भने, ‘डुबानबाट बस्ती जोगाइदिन हामीले सबैसँग हारगुहार गर्यौँ तर हाम्रो दुःख राज्यले सुनेन ।’
राप्ती नदीको कटान नियन्त्रण गर्न निर्माण भएको तटबन्ध भत्काएर नदीले सडक कटान गरे पनि यसको रोकथामका लागि राज्यले अहिलेसम्म कुनै चासो नदिएको यादवले बताए । राज्यले बेलैमा तटबन्ध निर्माण नगर्दा राप्तीसोनारी गाउँपालिका–६ र ७ र नरैनापुर गाउँपालिकावासी ६० हजारभन्दा बढी नागरिक डुबानको उच्च जोखिममा रहेको उनको भनाइ छ ।
डुडुवा गाउँपालिकाको होलिया बेतहनी क्षेत्रमा डुबान कटान गर्दै आएको राप्ती नदीले दुई वर्षअघि धार परिवर्तन गरी खल्लाझगडियामा निर्माण गरिएको अस्थायी तटबन्ध भत्काएपछि राप्तीसोनारी र नरैनापुरका गाउँबस्ती डुबानको जोखिममा परेको सांसद ढकालले बताए । खल्ला झगडियामा राप्ती नदीले तीव्ररूपमा कटान गरिरहेकाले ठूलो विपत्ति निम्त्याउन सक्ने अवस्थालाई तत्कालका लागि अस्थायी तटबन्ध निर्माणका लागि राज्यको ध्यानाकर्षण गराएको उनको भनाइ छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके