पश्चिम नेपालको सबैभन्दा सुगम मानिने जिल्ला बाँकेका बालबालिकामा नै कुपोषणको समस्या बढ्दै गएको छ । बर्सेनि कुपोषणबाट बालबालिकालाई जोगाउन ठुलो धनराशि खर्च गरिए पनि कुपोषण दर भने घट्न सकेको छैन । स्वास्थ्य कार्यालय बाँकेको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०–०८१ मा जिल्लाका एक हजार ३१० बालबालिकामा कुपोषण देखिएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९–०८० मा पनि यहाँ एक हजार ४१९ जना बच्चामा कुपोषण देखिएको थियो । त्यसको अघिल्लो आर्थिक वर्ष २०७८–०७९ मा पनि बाँकेमा एक हजार ५६ जना २ वर्षमुनिका बालबालिका कुपोषित भेटिएका थिए । स्वास्थ्य कार्यालयको यो तथ्याङ्कले नै कुपोषित हुने क्रम लगातार तीन आर्थिक वर्षमा घट्न नसकेको देखिएको छ ।
जिल्लाका आठ वटै गाउँपालिकाहरूले विभिन्न कार्यक्रम गर्दै आए पनि कुपोषित हुने बालबालिकाको सङ्ख्या कम नहुँदा चिन्ता प्रकट गरिएको छ । सङ्घीय संरचनापछि स्थानीय तहले नै कुपोषण घटाउन कार्यक्रम गरिरहेको स्वास्थ्य कार्यालय, बाँकेका जनस्वास्थ्य निरीक्षक देव नारायण उपाध्यायले बताए ।
उनले अझै पनि कुपोषित बालबालिकाहरू भेटिने क्रम निरन्तर जारी रहेको जनाउँदै पोषण सुधारको उपलब्धि शून्य प्रायः रहेको बताए । जनस्वास्थ्य निरीक्षक उपाध्यायका अनुसार ग्रामीण क्षेत्रका अधिकांश बालबालिका कुपोषित भेटिने गरेका छन् । पोषिलो खानेकुराको अभावमा उनीहरू कुपोषणको चपेटामा पर्ने गरेका छन् । समयमै पोषिलो खाना नपाएकै कारण ग्रामीण क्षेत्रका अधिकांश बालबालिका कुपोषित छन् ।
जनस्वास्थ्य निरीक्षक उपाध्यायले भने, ‘स्थानीयस्तरमा चेतनाको कमी र गरिबीले जानकी गाउँपालिका, नरैनापुर गाउँपालिका सहित नेपालगन्ज उपमहानगरपालिका लगायत अधिकांश क्षेत्रमा कुपोषित बालबालिकाको सङ्ख्या बढी छ ।’ स्वास्थ्य कार्यालय बाँकेका अनुसार गत वर्ष जानकी गाउँपालिकामा ३९९, नरैनापुरमा २७९, नेपालगन्जमा १४१, राप्ती सोनारीमा ११५, बैजनाथमा १०४, खजुरामा १०२, डुडुवामा १०१ र कोहलपुरमा ५१ जना बालबालिकामा कुपोषण पुष्टि भएको छ ।
गर्भवती हुने बेलादेखि नै स्वास्थ्य संस्थामा पहुँच नपुग्नु र पोषिलो खाना समेत नपाउनुले कुपोषणको समस्या भएको डुडुवा गाउँपालिकामा कार्यरत सिनियर अनमी सीमा घर्तिमगर खानले बताइन् । उनले पोषणबारे विशेष गरी मधेशी र मुस्लिम समुदायका महिलाहरूमा चेतनाको कमीका कारण उनीहरूको बानी व्यवहारमा सुधार आउन नसकेकोले यो समस्या बढ्दै गएको बताए ।
घरमै उपलब्ध हुने पोषिलो खाना नखाने गर्दा पनि बच्चाको शारीरिक वृद्धि विकास हुन नसकेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा विपन्नलाई खान नपुग्ने र खान पुगे पनि खाना खाने बानीमा सुधार नआएकोले बालबालिका कुपोषित हुने क्रम नरोकिएको डुडुवा गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक हेमन्त शर्माले बताए । उनले डुडुवामा बालबालिकालाई कुपोषणबाट बचाउनका लागि विशेष कार्यक्रम सञ्चालन गरिएको जनाउँदै यसले कुपोषण घटाउने विश्वास गरिएको बताए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके