सूचनाको शक्ति - The Power Of Information

        

इरानमा २९ जनालाई फाँसीमा चढाइयो

इरानमा बुधबार २९ जनालाई मृत्युदण्ड दिइएको छ । २६ जनालाई तेहरान बाहिरको गेजलहसार जेलमा र बाँकी तीन जनालाई काराज सहरको जेलमा फाँसी दिइएको मिडिया रिपोर्टमा उल्लेख छ । नर्वेको मानवअधिकार सङ्गठनले दिएको जानकारी अनुसार फाँसी दिइएका मध्ये दुई अफगान नागरिक पनि थिए ।

उनीमाथि हत्या, लागुऔषध ओसारपसार र बलात्कारको आरोप लागेको थियो । अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सी र सेन्टर फर ह्युमन राइट्स इन इरानले पनि गेजलहसार जेलमा कम्तीमा दुई दर्जन व्यक्तिलाई मृत्युदण्ड दिइएको पुष्टि गरेको छ । इरानले जनतामा डर पैदा गर्न २०२२ को विरोध प्रदर्शनमा संलग्नहरूलाई मृत्युदण्डको सजाय दिएको बारम्बार आरोप लगाइएको छ ।

इरानसँग सम्बन्धित मानवअधिकार सङ्गठन आइएचआरका निर्देशक महमुद अमिरी मोगद्दमले अन्तर्राष्ट्रिय समुदायले यसतर्फ खासै ध्यान नदिएको बताए । जसका कारण इरान सरकारले आगामी महिना सयौंलाई फाँसी दिन सक्ने उनको दाबी छ । उनले सन् २००९ पछि यति ठूलो सङ्ख्यामा मानिसलाई फाँसी दिएको यो पहिलो पटक भएको बताए ।

रिपोर्टका अनुसार यसअघि मङ्गलबार मानवअधिकार समूहहरूले इरानमा एक व्यक्तिलाई फाँसी दिएकोमा आलोचना गरेका थिए । उक्त व्यक्तिलाई रिभोलुसनरी गार्डको हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको थियो । उनलाई यातना दिएर स्वीकार गर्न बाध्य पारिएको कार्यकर्ता बताउँछन् । मृत्युदण्डको सजाय सुनाइएका व्यक्तिको नाम गेलामरेजा रसाई हो ।

उनी फाँसी दिइएका महसा अमिनीको मृत्युपछि इरानमा सुरु भएको विरोध प्रदर्शनमा संलग्न दशौं व्यक्ति हुन् । कुर्द समुदायकी २२ वर्षीया महसा अमिनीलाई तेहरानमा १३ सेप्टेम्बर २०२२ मा पक्राउ गरिएको थियो । हिजाब लगाएको भन्दै उनलाई पक्राउ गरिएको थियो भने उनको गिरफ्तारीको तीन दिनपछि अर्थात सेप्टेम्बर १६ मा उनको मृत्यु भयो ।

यसपछि यो विषय चर्चामा आयो । एम्नेस्टीका अनुसार सन् २०२३ मा चीन, इरान, साउदी अरेबिया, सोमालिया र अमेरिकामा सबैभन्दा बढी मानिसलाई मृत्युदण्ड दिइएको थियो । जसमध्ये सबैभन्दा बढी इरानमा ८५३ जना र साउदी अरबमा १७२ जनालाई मृत्युदण्ड दिइएको छ ।

बीबीसीको रिपोर्ट अनुसार सन् १९९१ मा ४८ देशमा मृत्युदण्डको व्यवस्था थिएन । यो सङ्ख्या २०२३ मा आइपुग्दा ११२ पुगेको छ । विश्वमा नौं देश यस्ता छन्, जहाँ गम्भीर अपराधका लागि मात्रै मृत्युदण्ड दिइन्छ । मृत्युदण्डको व्यवस्था भए पनि पछिल्लो दशकमा कसैलाई पनि मृत्युदण्ड नदिइएका २३ देश रहेका छन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार १०:३३

लोकप्रिय