सूचनाको शक्ति - The Power Of Information

        

बंगलादेशबाट बाहिरिएकी हसिनाको गन्तव्य अझै अन्योलमा

बंगलादेशबाट बाहिरिएकी पूर्वप्रधानमन्त्री शेख हसिना बाजेदको अन्तिम गन्तव्य कता हो भन्ने अझै टुंगो लागेको छैन । हसिनाले भारतबाट कहाँ जाने भन्नेबारे अझै निर्णय गरिनसकेको उनका छोराले बताएका छन् । हसिनाका छोरा सजिव वाजेदले जर्मनीको एक संचारमाध्यमलाई अन्तर्वार्ता दिँदै उनी अझै केही दिन दिल्लीमै रहने बताएका छन् ।

अन्तिम समयसम्म हसिनाले बंगलादेश छाड्न नचाहेको पनि उनले उल्लेख गरेका छन् । ‘उहाँले बंगलादेश छाड्न मान्नुभएको थिएन, मैले मनाउनुपर्यो,’ वाजेदले अन्तर्वार्तामा भनेका छन्, ‘जब मैले यो राजनीतिक आन्दोलन होइन । यो भीड हो उनीहरुले तपाईंलाई मार्छन् भनेपछि मात्र उहाँ बाहिरिन राजी हुनुभएको हो ।’

अमेरिकाले उनको भिसा रद्द गरेको छ भने बेलायतले पनि उनलाई शरण दिन अस्विकार गरेको छ । उनका नजिकका नातेदार बस्ने गरेको अमेरिका, बेलायत, फिनल्यान्ड र भारतभन्दा पनि अब यूएई र साउदी अरेबियाको विकल्पबारेमा छलफल गर्न थालिएको बताइएको छ ।

सोमबार ढाकाबाट भारत गएकी उनी अहिले बहिनी शेख रेहनासँग भारतको ‘सेफ हाउस’मा बस्दै आएका छन् । उनी लामो समयसम्म भारतमा बस्दा बंगलादेशसँगको सम्बन्धमा असर गर्न सक्ने भनेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकार चिन्तित रहेको बताइएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार १९:११

लोकप्रिय