सूचनाको शक्ति - The Power Of Information

        

गर्भावस्थामा अल्ट्रासाउन्ड कति जोखिमपूर्ण ?

गर्भवती भएपछि आमा र बच्चाको स्वास्थ्य अवस्था र सम्भावित जोखिमबारे जानकारीका लागि विभिन्न जाँच गरिन्छ । गर्भावस्थाको समयमा बच्चाको विकास सही तरिकाबाट भएको छ कि छैन भन्ने कुराको मूल्याङ्कन गर्नका लागि चिकित्सकहरूले समय–समयमा अल्ट्रासाउन्ड गर्न सिफारिस गर्छन् ।

तर कतिपयको मनमा अल्ट्रासाउन्ड गर्दा पेटमा भएको बच्चालाई केही असर गर्ने हो कि भन्ने डर पैदा भएको पनि पाइन्छ । यसै सन्दर्भमा रहेर नेपाल इन्टरनेसनल हेल्थ सर्भिस (एनआइएचएस)का रेडियोलोजिष्ट विष्णु सिग्देलले गर्भअवस्थामा अल्ट्रासाउन्डले पेटमा भएको बच्चा र आमालाई कुनै असर नगर्ने बताएका छन् ।

उनले भने, ‘अल्ट्रासाउन्ड हामीले जति पटक पनि गर्न सक्छौँ । १०–१५ पटक पनि गर्न सक्छौँ । केही फरक पर्दैन । हाम्रो सोचाइ एक्सरेहरु जस्तै अल्ट्रासाउन्डले पनि कतै रेडियसन फाल्ने हो कि अथवा पेटमा भएको बच्चालाई पनि केही असर गर्ने हो कि भन्ने कुराले डर पैदा भएको पाइन्छ । कति बिरामीहरूमा त्यो डर मैले पनि देखेको छु । अल्ट्रासाउन्ड जति पटक गर्दा पनि केही फरक पर्दैन ।’

उनले तीन पटकसम्म गर्न पाइने डब्लुएचओले पुष्टि गरिसकेको र नेपालमा चाँही पूर्व गर्भ अवस्थाभर चार पटकसम्म गर्ने गरिएको बताए । तर आवश्यकता अनुसार आमा र बच्चा दुवैको अवस्था हेरेर जतिपटक पनि गर्न सकिने उनले स्पष्ट पारे । ‘गर्भअवस्थामा एक्सरे चाहिँ सकेसम्म नगरेको नै ठिक हुन्छ, गर्नु पनि हुँदैन । तर कहिलेकाहीं यदी ज्यान खतरामा पर्यो भने ठूलो दुर्घटनामा पर्यो भने र हेर्ने पर्ने त्यस्तो अप्ठ्यारो अवस्था आयो भने मात्र गर्नु राम्रो हुन्छ,’ सिग्देलले भने ।

स्रोत : नेपाल न्यूज बैंक
प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार ०९:४५

लोकप्रिय