सूचनाको शक्ति - The Power Of Information

        

जमुनाहा नाकाबाट ५२६ जनाको उद्धार

नेपालगन्ज नाकाबाट गत आर्थिक वर्षमा मानव बेचबिखनको जोखिमपूर्ण यात्रामा रहेका ५२६ जना युवती, महिला र बालबालिकाको उद्धार गरिएको छ । गत आर्थिक वर्ष २०८०–०८१ को असार मसान्तसम्म ५२६ जनाको उद्धार गरेर आवधिक गृहमा प्रवेश गराई पारिवारिक पुनर्मिलन गराइएको हो ।

लामो समयदेखि मानव बेचबिखनको क्षेत्रमा क्रियाशील माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले मानव बेचबिखनका दृष्टिले अत्यन्तै संवेदनशील मानिने नेपालगन्ज नाका हुँदै मानव बेचबिखनको जोखिमपूर्ण यात्रामा रहेका पश्चिम नेपालका विभिन्न जिल्लाका ५२६ जनालाई सीमा क्षेत्रबाट उद्धार गरी उनीहरूलाई सचेत पारेर घर फिर्ता पठाइएको बताए ।

सो अवधिमा श्रम तथा यौन शोषणमा परेका नौं जनालाई उद्धार गरी उनीहरूलाई पनि परिवारमा पुनर्मिलन गराइएको माइती नेपाल बाँकेले जनाएको छ । यसैगरि गत आर्थिक वर्षमा नाकामा पुगेका ५११ जनालाई वैदेशिक रोजगारको जोखिम तथा त्यहाँ पर्न सक्ने जोखिमबारे परामर्श दिएर फिर्ता गराइएको माइती नेपालले जनाएको छ ।

हराएको भनी ५८७ जनाको खोजतलासको निवेदन माइती नेपालमा परेकोमा २९५ जना फेला परेका थिए भने १५ जना घरेलु हिंसाको सिकार भएको पाइएको थियो । विभिन्न खालका हिंसामा परेका पाँच जनालाई सिपमूलक तालिम दिएको माइती नेपाल बाँकेले जनाएको छ । सो अवधिमा दुई वटा मानव बेचबिखनविरुद्ध मुद्दा दर्ता भएको र दुई जनामाथि जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको माइती नेपाल नेपालगन्जले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार ०७:२०

लोकप्रिय