सुनसरीको दुहबी नगरपालिका–६ मा सञ्चालित दुईवटा छाला उद्योगबाट निस्कने दुर्गन्धले बिरामी पर्न थालेपछि स्थानीयवासी आन्दोलित बनेका छन् । यहाँ सञ्चालित युनाइटेड टेनराइज र एसियन लेदर उद्योगबाट निस्कने दुर्गन्धले बस्तीबाटै विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै स्थानीयहरु उद्योगविरुद्ध आन्दोलित बनेका हुन् ।
छाला प्रशोधन तथा भण्डारण उपयुक्त नभएकाले ती उद्योगबाट वरिपरिका बस्तीमा दुर्गन्ध फैलिने गरेको स्थानीय कुन्दन पासवानले बताए । उनले भने, ‘उद्योगले त्यहाँबाट निस्कने फोहरको ढल नजिकै रहेको बूढी खोलामा मिसाउने गरेको छ भने राँगा तथा भैंसीको छाला उद्योग कम्पाउन्डमै खुल्ला सुकाउँदा दुर्गन्ध फैलिने गरेको छ ।’
उद्योगबाट निस्कने दुर्गन्धले घरमा पाहुना आउन नमान्ने अर्का स्थानीय मोहम्मद सलमानले बताए । प्रदूषण फैलाउने कारखाना बन्द गराउन माग गर्दै आन्दोलित स्थानीयले सम्बन्धित निकायहरुमा उजुरी दिएका छन् । दुहबी नगरपालिकाको न्यायिक समितिमा स्थानीयले दिएको उजुरीपछि उपप्रमुख सहितको टोलीले आज उद्योगको अनुगमन गरेको नगर उपप्रमुख मेनुका पोखरेल खतिवडाले बताइन् ।
अनुगमनका क्रममा दुर्गन्धित रूपमा सञ्चालित उद्योग मापदण्ड विपरीत पाइएको उनले बताइन् । उनले भनिन्, ‘उद्योग लापरबाही किसिमले सञ्चालनमा रहेछ । दुर्गन्ध फैलिएर स्थानीय आजित बनेकाले कारबाही गर्नुको विकल्प छैन ।’ उद्योगमा ताला लगाउने अधिकार स्थानीय तहलाई नभएकाले माथिल्लो निकायमा समन्वय गर्ने उनको भनाइ छ । अनुगमनका क्रममा उद्योग सञ्चालकलाई भेट्न नसकिएको र अहिलेसम्म सम्पर्कमा नआएको उनले बताइन् ।
उद्योगको कागजपत्र समेत चुस्त दुरुस्त नराखिएको तथा नवीकरण र कर समेत नतिरेकाले सञ्चालकलाई कार्यालयमा आउन निर्देशन दिएको उपप्रमुख खतिवडाले बताइन् । २० वर्षदेखि सञ्चालनमा रहेका ती उद्योग बीचमा बन्द हुँदै फेरि सञ्चालनमा ल्याउने गरेको सुनसरी दुहबी–६ का वडाअध्यक्ष घनश्याम हलुवाईले बताए । विगतमा पनि मापदण्ड विपरीत सञ्चालन गरेकाले ती उद्योगलाई जरिवाना गरिएको थियो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । सुनसरी