सूचनाको शक्ति - The Power Of Information

        

यात्रुको कपालमा जुम्रा भेटिएपछि विमानको आकस्मिक अवतरण

यसअघि आयरल्याण्डमा लोग्ने स्वास्नीको झगडाका कारण उडिरहेको विमान डाइभर्ट गरेर आकस्मिक अवतरण गराउनु परेको खबर सार्वजनिक भएको थियो । अहिले फेरि अर्को यस्तै घटना भएको छ, जहाँ एकजना महिला यात्रुको टाउकोमा भेटिएको जुम्राले विमानको आकस्मिक अवतरण गराइदिएको छ ।

सोही जहाजमा यात्रुको रुपमा रहेका एथन जुडलसन नामक एक व्यक्तिले आफ्नो टिकटकमा सो घटनाको बारेमा खुलासा गरेका छन् । उनका अनुसार अमेरिकाको लस एन्जल्सबाट न्युयोर्कका लागि उडेको विमान अचानक फिनिक्समा आकस्मिक अवतरण भयो । त्यसरी जहाज एक्कासी बीच बाटोमै अवतरण भएपछि उनी अचम्ममा परे ।

किनकि त्यहाँ जहाजमा वा यात्रुहरुमा कुनै समस्या परेको जस्तो आभाष हुँदैनथ्यो । तर जब विमान अवतरण भयो, तब उनको छेउमै बसेकी एकजना महिला जहाजको ढोकातर्फ दौडिइन् । त्यो देख्दा लाग्थ्यो कि उनी विमानबाट सबैभन्दा पहिले बाहिर निस्किन चाहन्थिन् । पछि मात्र यात्रुहरुलाई जानकारी गराइयो कि उक्त आकस्मिक अवतरणको वास्तविक कारण जुम्रा थियो । एकजना महिला यात्रुको टाउकोमा जुम्रा देखिएको थियो ।

त्यो रिपोर्ट चालक दलसम्म पुगेपछि त्यसलाई मेडिकल इमर्जेन्सी ठानेर जहाजको आकस्मिक अवतरण गरियो । दुईजना युवतीहरुले एक महिलाको टाउकोमा जुम्रा हिंडिरहेको जानकारी विमानका कर्मचारीले गराएका थिए । करिब १२ घण्टासम्म फिनिक्समा जहाज रोकियो र त्यसपछि मात्रै गन्तव्य तर्फ उडेको थियो । टाउकोमा जुम्रा भेटिएकी महिला यात्रुको पहिचान भने गोप्य राखिएको छ । समाचार अनुसार यो घटना गत जुन महिनामा भएको हो ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलवार १४:०८

लोकप्रिय