धादिङका रमेश आचार्य खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नयाँ सीइओ बन्ने भएका छन् । सरकारले आजै बस्ने मन्त्रीपरिषदको बैठकबाट आचार्यलाई सीइओमा नियुक्त गर्ने सरकारले तयारी गरेको छ । खाद्यको सीइओका लागि १८ जना दावेदार थिए । यसअघि झापाका कविप्रसाद पाठकलाई सीइओ बनाउने तयारी थियो ।
तर पाठक राष्ट्रिय बीमा संस्थानमा प्रमुख प्रशासक छँदा अनियमितता गरेको मुद्दामा मुछिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको हुँदा खाद्यको सीइओ बन्ने रेसबाट पाठक बाहिरिएका हुन् । पाठक प्रधानमन्त्री केपी शर्मा ओलीका जिल्लावासी हुन् । ओलीकै इच्छा बमोजिम पाठक सीइओ बन्न अघि सरेका थिए ।
२०८१ बैशाख ५ देखि खाद्यमा सीइओ पद रिक्त छ । असार १७ गतेदेखि सीइओ छान्ने प्रक्रिया सुरुभएको थियो । तीन साताको अवधीमा व्यापक मोलमोलाई पछि रमेश आचार्यलाई सीइओ बनाउने तयारी सरकारले गरेको हो । आचार्य यसअघि नेपाल उद्योग बाणिज्य महासंघको जुनियर कर्मचारी थिए ।
त्यहाँ काम गर्दा ठुला उद्योगी ब्यापारीसँग राम्रो चिनापर्ची बनाएका उनलाई तीनै ठुला घरानाको करोडौं लगानीमा खाद्यको सीइओ बनाउन उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी सहमत भएको मन्त्रालय श्रोतको भनाई छ । मन्त्री भण्डारीले ‘मान्छे जोसुकै भए पनि पाँच करोड रुपैयाँ जसले दिन सक्छ उही नै सीइओ बन्छ’ भनेपछि मन्त्रालयका सहसचिव लक्ष्मी प्रसाद निरौलाले रमेश आचार्यलाई खोजेको श्रोतले बतायो ।
निरौलाले मन्त्री भण्डारीको दाहिने हातका रुपमा काम गरिरहेका छन । मन्त्रालयसँगका विभिन्न विजनेशबाट करोडौं रुपैयाँ उठाउन मन्त्रीले निरौलालाई जिम्मेवारी दिएको सिंहदरबार भित्र चर्चा पनि हुने गरेको छ । सरकारका झण्डै दुई दर्जन संस्थानहरुमध्ये खाद्य व्यवस्था तथा व्यापार कम्पनी मालदार अड्डा हो । अर्बौको सम्पती रहेको यो संस्थानमा विगतदेखि नेपालका ठुला व्यवसायीक घरानाहरुले आँखा लगाउदै आएका छन् ।
यस संस्थाले बार्षिक लाखौं क्वीन्टल चिनी, चामल र खाद्य वस्तु खरिद गर्दै आएको छ । वैदेशिक आयातमा ठुला व्यवसायीक घरानाले करोडौं रुपैयाँ मुनाफा देखेर नै पाँच करोडको थैली मन्त्री भण्डारीलाई बुझाएर रमेश आचार्यलाई सीइओ बनाउन चलखेल गरेको समाचार सुत्रको दावी छ । आचार्यलाई सीइओ बनाउन कुन–कुन ब्यापारीले स्पोन्सर गरे भन्दै उद्योग मन्त्रालयमा चर्चा हुने गरेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं